पालिकाले अनुदानमा तरकारी र प्याजको बिरुवा वितरण गर्दै
पाल्पा ।
रामपुर नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा तरकारी तथा प्याजको विरुवा वितरण गरेको छ ।
अहिले तरकारी लगाउने सिजन शुरु भएसंगै नगरपालिकाले नगरको टनेलमा उमारेको बिरुवा मागको आधारमा किसानलाई दिदै आएको छ ।
नगरपालिकाले कृषि तथा पशु बिकास सेवा कार्यालय रहेको क्षेत्रफल वरिपरि काउली, ब्रो काउली, बन्दा र प्याजका बिरुवा रोपेको थियो । प्रचलित बजार मूल्यको ५० प्रतिशत अनुदानमा एभरेष्ट ग्रीन जातको ब्रोकाउली, सुपर ह्वाईट टप जातको काउली, ग्रीन टप बन्दा, रेड क्रियोल र नासिक– ५३ जातको प्याजको वेर्ना कृषकहरुलाई वितरण गरेको नगरपालिकाका प्रमुुुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो ।
नगरपालिकाले ब्रोकाउली प्रति वेर्ना ३ रुपैयाँ, काउली र वन्दा २ रुपैयाँ ५० पैशामा वितरण गरेको छ । प्याजको बिरुवा बितरणको तयारीमा छ । प्याजको वेर्ना १ रुपैयाँको १० वटाका दरले वितरण गर्नेछ । पहिलो दिन सोमबार ब्रोकाउली २ हजार ३ सय १ , काउली २ हजार ६ सय ८९ र वन्दा २ हजार ६ सय ५५ गरी जम्मा ७ हजार ६ सय ४५ वटा बिरुवा वितरण गरेको पण्डितले बताउनुभयो ।
।
कृषकहरुलाई राहत र प्रोत्सहनका लागि अनुदानमा वेर्ना वितरण गरिएको हो । उहाँले तरकारी खेतिमा कृषकहरुलाई आकर्षित गरि उत्पादनमा वृद्धि संगै नगरलाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषकहरुको माग र आवश्यकताका आधारमा नगरपालिकाले वेर्ना अनुदानमा वितरण गरेको हो ।साथै वेर्नाको सही सदुपयोग र हेरचाह गरी राम्रो उत्पादनका लागि ध्यान दिन कृषकहरुलाई आग्रह समेत गर्नु भएको छ । नगरपालिकाले अहिले करिब ४० हजार ब्रोकाउली, काउली र बन्दाको वेर्ना वितरण गर्नेछ ।
कृषकहरुको मागको आधारमा यही कार्तिक १८ गते सम्म अनुदानमा वेर्ना वितरण गरिने रामपुर नगरपालिका कृषि शाखाका जेटिए युवराज नेपालीले बताउनुभयो । माग गर्न सकिने वेर्नाको परिमाण कृषकले लगाउने क्षेत्रको आधारमा उपलब्ध गराईएकाले वेर्ना आवश्यक पर्ने कृषकले समयमै कृषि शाखामा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नु भएको छ । नगरपालिकाले प्याजको वेर्ना भने आगामी कार्तिक २० गते देखि मात्रै कृषकहरुलाई वितरण गर्ने तयारी गरेको छ ।