वडाले गर्यो उत्कृष्ट विद्यार्थीलाई सम्मान
पाल्पा ।
पाल्पाको रामपुर नगरपालिका वडा न.५ ले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । गत २०७९ सालको एसईई परीक्षामा वडा भित्रका संस्थागत तथा सामुदायिक विद्यालय बाट ए प्लस नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई वडा दशैं, शुभदिपावली एवं छठ पर्वको शुभकामना सहित सम्मान गरेको हो ।
रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले विद्यार्थीहरुलाई थप हौसला बढाउन सम्मान गरिएको बताउनुभयो । विद्यार्थी र अभिभावकमा पनि प्रगति प्रति गर्व हुन्छ, त्यसैले हामीले सम्मन गरेका हौ, पोखरेलले भन्नुभयो । उहाँले हाम्रो मौलिक पर्वहरुलाई भड्कीलो नभै मर्म अनुसार मनाउन आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष हिमाल मल्लले वडाबासीहरुमा शुभकामना व्यक्त गर्दै आफ्नो क्षमता अनुसार चाडपर्व मनाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका ५ का पूर्व वडा सदस्य सावित्रा गौतम, रामतुलसी माध्यमिक विद्यालय व्यवस्थापन समितिको तर्फबाट शेषकान्त भट्टराई, विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद रेग्मी ,भूपू सैनिक राईजिङ्ग इङ्गलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल गोपी सिग्देल, रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक सुर्य प्रसाद घिमिरे, बेझाँड बजार टोल विकास समितिका संयोजक दयाराम गैरे, अभिभावक महेश भट्टराई, रामतुलसी माध्यमिक विद्यालयका विद्यार्थी वृन्दा गौतमले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वडा भित्रका सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रममा रामतुलसी माध्यमिक विद्यालय बाट ए प्लस ल्याउन सफल बृन्दा गौतम, समिता रेग्मी, सुगम पौडेल, जनक भण्डारी, आशिष कुमाल, रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयका सुरक्षा गौतम, विशाल गहतराज र भूपू सैनिक राईजिङ्ग इङ्गलिश बोर्डिङ्ग स्कुलका कुशल आलेलाई नगद सहित दोसला ओढाई सम्मान पत्रले सम्मान गरेको हो ।
रामपुर ५ का वडाअध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका कार्यपालिका सदस्य मायाँ नेपालीको स्वागत बाट सुरु भएको थियो भने सहभागीहरुलाई वडा सदस्य युवराज शाहीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव रजनी भण्डारीले गर्नु भएको हो ।