पाल्पाको रामपुरमा ज्योतिपुञ्ज कप हुदै
पाल्पा ।
खेलकुद क्षेत्रमा अगाडी रहेको पाल्पाको रामपुरमा ज्योतिपुञ्ज कप २०८० हुने भएको छ । रामपुर नगरपालिका ७ किसानबारी खेलमैदानमा ज्योति पुञ्ज युवा क्लवको आयोजनामा असोज २२ गते देखि २८ गते सम्म कप हुन लागेको हो ।
क्लबको २७ औं बार्षिकोत्सव विजयादशमी, शुभदिपावलीको अबसर पारेर उत्सवको रुपमा प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो ।
स्थानीय खेल प्रतिभाको उजागर तथा रामपुरलाई खेलकुदको माध्यमबाट चिनाउन प्रतियोगिता सञ्चालन गरेका हौ, अध्यक्ष गौतमले भन्नुभयो- कप अन्तर्गत फुटवल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता संगै विभिन्न परिकार र कला सस्कृति देखाइनेछ ।
रामपुर नगरपालिकाका २ टिम सहित ६ जिल्लाका खेलाडीले भाग लिने फुटवल प्रतियोगितालाई यश क्षेत्रमा रोचकताका साथ हेरिएको छ । फुटवलको क्रेज बढिरहेको यस भेगमा ठूलो राशीको प्रतियोगिता पनि हो। प्रतियोगिताका विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । साथै वेष्ट प्लेयर, वेष्ट किप्पर, हाई स्कोरर, वेष्ट डिफेन्डर, म्यान अफ द म्याच लगाएतका विद्यामा पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा राष्ट्रिय टिममा सहभागी खेलाडीहरुको समेत उपस्थिति रहने संयोजक शाहीले बताउनुभयो ।
सहभागी खेलाडीहरुलाई जिल्ला फुटबल संघ पाल्पाका प्रशिक्षक रितेश मल्लले खेल मैदानमा केही दिनदेखि अभ्यास गराएका छन् । रामपुर नगरपालिका संरक्षक रहेको यस प्रतियोगितामा रामपुर युनाईटेड फुटबल क्लव, नगर खेलकुद विकास समिति रामपुर, जिल्ला फुटबल संघ पाल्पा र रामपुर उद्योग वाणिज्य संघ सहयोगी छ ।
प्रतियोगिताको अवसरमा विद्यार्थीहरुको बौद्धिक विकासको लागि माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा स्थानीय स्तरमा रहेका मौलिक संस्कृति प्रदर्शन संगै पाल्पाको मौलिक खानाका परिकारहरु पनि विक्री वितरणको व्यवस्था गरिएको छ ।