काठमाडौँ ।
नेपाल सरकार र रोमानिया सरकारबीच श्रम समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका लागि श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कुबीच द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम बजारको फराकिलो सम्भावना रहेकोले नेपाल र रोमानीयाबीचको कूटनीतिक सम्बन्ध कायम भएको धेरै बर्ष पछी श्रम समझदारी भएको हो ।
त्यसका लागि मन्त्री भण्डारीको नेतृत्वको टोली रोमानिया पुगेको थियो । नेपालका तर्फबाट श्रम सचिव केवल प्रसाद भण्डारी, जमर्नीका राजदूत रामकाजी खड्का, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको उपस्थिति रहेको थियो । रोमानियको पक्षबाट श्रमसँग सम्बन्धित विभिन्न निकायका उच्च तहका अधिकारीहरू सहभागी रहेको श्रम मन्त्रालयले जनाएको छ ।
वार्ताको क्रममा नेपालमा छिट्टै रोमानियाका लागि राजदूतावास स्थापना गरी आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी समयावधि तथा श्रम स्वीकृतिको कार्यलाई थप सरलीकरण गर्न, रोमानियमा नेपाली श्रमिकका लागि सम्भावित सीपयुक्त श्रम बजारको पहिचान गर्न तथा महिला श्रमिकलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारीलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्ने चाहना रोमानिया पक्षबाट प्रतिबद्धता व्यक्त भएको छ ।
दोहोरो कारार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीप जस्ता विषयमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न पनि सहमति भएको छ ।
त्यस्तै नेपालबाट छोटो समयमा इथिकल रिक्रुमेन्टमार्फत कामदार रोमानिया लैजाने कानुनी प्रावधान तथा व्यवस्थापनका बारेमा छलफल भएको छ । कामदारको सामाजिक सुरक्षाको हकमा रोमानियामा कार्यरत कुनै पनि आप्रवासी कामदारले रोमानियाका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था छ ।
श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्न दुबै पक्षले प्रतिबद्धता जनाएका छन् ।