बाँदरबाट मकैबाली जोगाउन किसानलाई हम्मेहम्मे, दिनरात खेतबारीमै बास
पाल्पा ।
बाँदरले मकैखेती सखाप पार्न थालेपछि पाल्पाका किसान चिन्तित भएका छन् । बिहानदेखि बेलुकासम्म बारीमा बस्दा समेत बाँदरबाट मकै जाेगाउन नसकेपछि किसान चिन्तामा परेका हुन् ।
बाँदरबाट बाली जोगाउन उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्ने कृषक बेलुका नहुञ्जेलसम्म बाली कुरेर बस्ने गरेका छन् । खेतीबाली लगाउन र हुर्काउन जस्तै बाँदरबाट जोगाउन उस्तै चुनौती भएकाे किसान बताउँछन। तानसेन ७ ठाटिका किसानहरु मकैको बोटमा घोगा लागेदेखि नै सबै काम छाडेर बाँदर धपाउन लागिपरेका छन् । बिहान उठेदेखि बादरकै पछि लाग्दा पनि बाली जोगाउन नसकिने होकि भन्ने चिन्ता तुल्सा पुरीलाई छ।
तानसेन ८ मदनपोखराका कृषक गोबिन्द पाण्डेको समस्या पनि उस्तै छ। बाँदरका कारण खेतबारी बाँझै राख्नुपर्ने अवस्था आउन लागेको दुखेसो पोख्नुभयो । उहाले भन्नुभयो”मिहिनेत गरेर खेती लगायो हुर्कायो स्याहार्ने बेला बादरले नष्ट गरिदिदा खेती नै गर्न मन लाग्दैन।” गतवर्ष तानसेन नगरपालिकामा वडा न ११ ले मात्र बादर नियन्त्रणलाई १ लाख बजेट छुट्टाएको थियो तर त्यो बजेट कहाँ कसरी खर्च गर्ने अन्योल हुदा त्यहाका किसानका समस्या पनि उस्तै रहे। बादर आतंक नियन्त्रणका लागि तानसेन नगरपालिकाले कुनै चासो नदिदा पनि कृषक मारमा परेको बताएका छन् ।
तानसेन नगरपालिका मात्र नभई बगनासकाली गाउँपालिकाका किसानको समस्या पनि उस्तै छ। बादर आतंकबाट मकैखेती जोगाउन नसकेपछी गतवर्ष देखि पोखराथोकमा सामुहिक रूपमा अदुवा बेसार खेती लगाईएको छ। “बर्सेनि बादरबाट बाली जोगाउन नसक्दा सबै खेती नष्ट हुन्थ्यो, अहिले बैकल्पिक अदुवा बेसार खेती सुरु गरेपछि बादरले नष्ट गरिदिएला की भन्ने चिन्ता हटेको कृषक लक्ष्मी गाहा बताउनुहुन्छ।
“बगनासकाली गाउँपालिकाले गतवर्ष बादर नियन्त्रणका लागि १० लाख छुट्टाएको थियो तर त्यो बजेट कहाँ कसरि खर्च गर्ने अन्योल हुदा उपलब्धि हुन सकेन। यो वर्ष पनि १० लाख रुपैया बजेट बिनियोजन गरेको छ। अहिले भने छुट्टाएको बजेट कहाँ कसरी खर्च गरेर बादर नियन्त्रणमा ल्याउन सकिन्छ भनेर पालिकाका नागरिक र सरोकारवाला सबैसंग राय सुझाव संकलनका लागि माग गरिएको पालिकाका अध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो ।
पाल्पाका अधिकाशं स्थानमा बाँदरकै समस्याका कारण कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझिएका छन् ।