भुमि आयोग पाल्पाले रामपुरमा पहिलो चरणको ९७ प्रतिशत पुर्जा वितरण गर्योे
पाल्पा ।
राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका पहिलो चरणका प्रक्रिया पुरा गरी ९७ प्रतिशतलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ ।
गत २०७८ को चैतमा पाल्पामा भुमि आयोग गठन भएलगत्तै कामलाई तिब्रता दिएको आयोगले पाल्पाको रामपुर नगरपालिकाबाट काम शुरुवात गरेको थियो । भुमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरेले साविक रामपुर गाविसका ७ सय ८३ घडेरी मध्ये ७ सय २ जनालाई पुर्जा दिन सफल भएको बताउनुभयो । हाल रामपुर नगरपालिका वडा नं. ५, ६ र ७ मा पर्ने यी निवेदकको काम राष्ट्रिय भुमि आयोग गठन आदेश २०७५ अनुसार काम भएको हो । २०२२/०२३ देखिको रसिदको भरमा शताब्दीको चिन्ता लिएर बसेका रामपुरको मुख्य बजार क्षेत्र पर्ने वडाका बेझाँड, बिजयपुर, किसानबारी तथा तिलकपुर लगायत क्षेत्रका ७ सय २ वटा जग्गाको पूर्जा हस्तान्तरण गरिएको अध्यक्ष गैरेले जानकारी दिनुभयो ।
पहिलो चरणको प्रक्रियामा नै रहेका मध्य १२ वटाको राजस्व जम्मा गर्न बाँकी रहेको, ४१ वटा एकल निवेदन मात्र भएका कारण दम्पतिको हस्ताक्षर भएपछि बितरण गर्ने र ९ वटा निवेदनको कार्यविधि अनुसार नमिल्ने भएर पछि सारिएको छ । एउटा निवेदनको हकमा हकदावी परेको छ । १ वटाको मुचुल्का नभएको, १८ वटाको दोहोरो निवेदन परेको जोडिएको कित्ता सगोल बनाइएको छ । वितरण भएका पुर्जाका सक्कल मिसिल/स्रेस्ता मालपोत कार्यालय र नापी नक्सा नापी कार्यालयलाई हस्तान्तरण समेत भएको छ ।
सोमबार रामपुर नगरपालिकामा ८७ जनालाई पुर्जा वितरण गर्नुहुदै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले आयोग मार्फत ऐतिहासिक काम भएको बताउनुभयो । पुर्जा पाउने दिन ऐतिहासिक भएको उल्लेख गर्दै उहाँले यस दिनलाई हरेक नागरिकले सम्झने बताउनुभयो । रसिद बोकेर भोगचलन गर्दै आएको जग्गालाई भुमि सम्पत्तिको मालिक पुर्जाले बनाइदिएको छ थापाले भन्नुभयो–पुर्जा बिनाको जग्गाको चिन्ता हटेको छ । उहाँले स्रेस्ता र नक्सा मालपोत र नापीमा गएकाले जग्गाको श्रेस्ता कायम अब छिट्टै हुने र नगरपालिकाले घरहरुको अभिलेखिकरणको प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।
आयोगले यस अघि पहिलो चरणमा गत वर्ष पुष ८ गते १ सय ६४, माघ १० गते ९८ र जेठ ३ गते ३ सय ५४ जना लाई पूर्जा वितरण गरेको थियो । सो अव्यवस्थित जग्गाधनी पूर्जा वितरणबाट ११ करोड ७७ लाख ९३ हजार ५ सय ५२ राजस्व रामपुर नगरपालिकाबाट राज्यकोषमा संकलन भएको छ । हाल सम्म १ सय १४ रोपनी ११ आना १ पैसा क्षेत्रफलको जग्गाको पूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका विज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीले विभिन्न चुनौतीका बाबजुद पनि सबैको साथ र दत्तचित्तले पुर्जा दिन सकिएको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेलले नगरबासीलाई उत्साहित बनाउने काम भएको बताउनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले २०५५ सालमा पुर्जा वितरण भएपनि बेचबिखन हुन नसकेको परिस्थितिमा अहिले बेचबिखन गर्न मिल्ने प्रमाणित पुर्जा पाएको बताउनुभयो ।
नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले काजगी प्रक्रिया पुरा गर्न बाँकीलाई प्रक्रिया पुर्याई क्रमशः पुर्जा दिदै जानुपर्ने बताउनुभयो । नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मीले निवदेकलाई व्यवस्थापन गर्न अब्यवस्थित र सुकुम्बासी पुर्जा दिनुपर्नेमा जोड दिनुभयो । नेकपा माओवादी केन्द्र रामपुरका लक्ष्मी ढकालले पुर्जा दिने टोलीको मेहनतले सार्थकता पाएको बताउनुभयो । एकिकृत समाजवादी रामपुरका विनोद कुमार श्रेष्ठले आफुले पुर्जा पाएको बताउदै लिने र दिने प्रक्रियाले सफलता पाएको बताउनुभयो । राष्ट्रिय जनमोर्चा रामपुरका रामप्रसाद गैरेले बाँकी पुर्जा पाउने गरि आयोगले अभियान चलाउनुपर्ने बताउनुभयो । पत्रकार सीता डोटेलले पुर्जा बिना भोगचलन मात्र गरेका नागरिकलाई हौसला सहित सबै दल र उमेद्वारको चुनावी एजेण्डा बन्ने पुर्जा बितरणमा ऐतिहासिक काम भएको बताउनुभयो ।
कार्यक्रमको अवसरमा रामपुर नगरपालिकाले जग्गाधनी प्रमाण पूर्जा वितरणमा आयोगलाई सहयोग गर्ने आयोगका कर्मचारी, मालपोत कार्यालय पाल्पा, समन्वय समिति, प्रशासन सहित नगरपालिकाका कर्मचारीलाई सम्मान गरेको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहनलाल गैरेको अध्यक्षतामा भएको कार्यक्रम विज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीको स्वागत र सदस्य सचिव अर्जुन पौडेलको सञ्चालनमा भएको हो । रामपुर नगरपालिका भित्र तत्कालिन रामपुर गाउँ पञ्चायत, गाविसले पूर्वाधार निर्माण तथा सामाजिक कामका लागि र रामतुलसी मा.वि., दरैठाँटी मा.वि., आधारभूत मावि, नवदुर्गा मावि तथा क्याम्पसले सञ्चालनको लागि जग्गा विक्री गरेका थिए । सो जग्गा रसिदको भरमा बिक्री र पटक–पटक किन बेच बेच समेत हुदै आएको थियो । भोगचलनको रुपमा सोही जग्गामा बसोबास गर्दै आएका नागरिक लालपूर्जा पाउदा दशकौंको खुशी भित्रिएको बताएका छन् ।