गर्मी बढेसंगै पहाडी जिल्ला पाल्पा रामपुरका विद्यालय बन्द
पाल्पा ।
गर्मी बढेसंगै पाल्पाको रामपुर नगरपालिकाले नगरका सम्पूर्ण शैक्षिक संस्थाहरु ५ दिनका लागि बिदा दिएको छ ।
अत्याधिक गर्मी बढ्दै जादा विद्यालय सञ्चालनमा समस्या भएकोले नगरका सामुदायिक सस्थागत र मन्टेश्वरी विदा दिएको रामपुर नगरपालिकाले जनाएको छ ।
शिक्षा शाखाको जेठ २८ गतेको निर्णय अनुसार एक सूचना जारी गर्दै २०८० जेष्ठ २९ गते देखि आउदो असार १ गते सम्म रामपुर नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीहरुमा विदा दिने निर्णय गरेको शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो ।
पाल्पा पहाडी जिल्ला भएपनि रामपुर उपत्यका फाट रहेकोले गर्मी बढी हुने गर्दछ । नेपालभर अत्याधिक गर्मी बढेको र त्यसको प्रभाव रामपुर नगरपालिकामा पनि परेकोले विद्यालय सञ्चालनमा कठिनाई संगै विद्यार्थीको स्वास्थ्यमा असर पर्ने भएकोले बन्द गर्न सुझाब आए संगै बिदा दिइएको हो ।
विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ रामपुर र अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस सहित स्कुल बन्द गर्न सुझाएको थियो । आउदो बर्षे र हिउदे विदामा मिलान हुने गरी विदा गर्मीमा दिइएको नगरले जनाएको छ ।
नगर शिक्षा शाखाले तातो हावा तथा लू बाट बच्न सतर्कताका सुझाबहरु दिन र विद्यार्थी, अभिभावक सम्म पुर्याउन विद्यालयहरुलाई अनुरोध गरेको छ ।