2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर नगरपालिकाको एक वर्षका उपलब्धीः के-के हुन् त २९ मुख्य उपलब्धी?

रामपुर नगरपालिकाको एक वर्षका उपलब्धीः के-के हुन् त २९ मुख्य उपलब्धी?


Sabalnews प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२ २०८०
2.5K

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाले पछिल्लो एक वर्षको कार्य सम्पादन प्रगति प्रतिवेदन बिहिबार सार्वजनिक गरेको छ । दोस्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको जेठ ६ गते १ बर्ष पूरा भएको छ ।

जिम्मेवारी सम्हालेको एक वर्षको उपलब्धी वडा अध्यक्ष र नगर प्रमुख रमण बहादुर थापाले पत्रकार भेटघाट मार्फत सार्वजनिक गर्नुभएको हो । २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित रामपुर नगरपालिकाका जनप्रतिनिधिले जेठ ६ देखि कार्यभार सम्हालेका थिए । कार्यपालिकामा नगर प्रमुख थापा मात्र दोहोरिनुभएको हो । थापा संघीयतापछिको पहिलो निर्वाचन २०७४ मा पनि नगरप्रमुखमा निर्वाचित हुनुभएको थियो ।

दोस्रो कार्यकालको पहिलो बर्ष उपलब्धिमुलक र सफल भएको आफुले महशुस गरेको बताउनुभएका थापाले २९ बुदे प्रगति प्रतिबेदन सुनाउनुभयो । यस अवधिमा नगरपालिकाको पहलमा लालपुर्जा बितरण, कालीगण्डकी करिडोरको विवादित मटेरी र भलयटारमा विवाद मिलान, समपुरकबाट बसपार्क सहितको टेण्डर प्रक्रिया, ३० लाखसम्म ऋण व्याज अनुदान, नगर र वडा नम्बर ४, ५ र६ मा डिजिटल नागरिक बोर्डलाई उपलब्धीमा राखेको छ । त्यस्तै वडा नम्बर ३,७ र ८ को वडा कार्यालय यसैबर्ष सक्ने लक्ष्य, किसानलाई प्रविधि, उन्नत बीउ र किसान सुचीकरणको प्रक्रिया शुरु, मेयर छात्रवृत्ति अन्तर्गत ४० जनालाई अध्ययनका लागि छात्रवृत्ति र लोकसेवा कक्षा, स्थानीय पाठ्यक्रम, खरको छानो भएका २१ घरलाई टिन, ३.१७ किलोमिटर कालोपत्रे, १७.८७ किमि ग्राभेल, ९.५२ नया ट्र्याक, ४.८३ किमि पक्की नाली, २.३९ किलो पक्की कुलो निर्माण र ५४५ मजदुरको ३ लाखको दुर्घटना बिमा लगायतका प्रगतिलाई उल्लेखनीय काममा राखेको छ ।

नगर उपप्रमुख बालकुमारी थापाले उपप्रमुख संयोजक रहेका न्याय समिति सम्पादन, बजार अनुगमन, योजना अनुगमन, राजस्व परामर्श, योजना तर्जुमा समितिको प्रतिबेदन सुनाउनुभयो ।सोही अबसरमा रानपा वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँण, वडा नं. २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जी, वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर राना, वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, वडा नं. ७ वडा अध्यक्ष दोवराज तिवारी र वडा नं. ९ का वडा अध्यक्ष डिल बहादुर रानाले वडामा भएका कार्य प्रगति प्रस्तुत गर्नुभएको थियो ।

नगरपालिकाले सार्वजनिक गरेको विगत एक बर्षको कार्यकालका उपलब्धी यस्तो छ-

१. झण्डै ५० बर्ष देखि पुर्जाविहिन जग्गाधनीहरुलाई राष्ट्रिय भूमि आयोग मार्फत रामपुर नगरपालिका वडा नं. ५, ६ र ७ का दर्ता भएका ७ सय ८३ मध्ये ६ सय १६ अव्यवस्थित जग्गाधनीहरुलाई लालपुर्जा वितरण गर्दा ९४ रोपनी १३ आना क्षेत्रफल जग्गाको लाल पुर्जा वितरण गरि १० करोड २४ लाख ९ हजार ६ सय २७ रुपैयाँ राजस्व संकलन भई राष्ट्रिय भूमि आयोगको खातामा दाखिला भएकोे । बाकीलाई यसैबर्ष बितरण गर्ने, भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अन्य अव्यवस्थित जग्गाहरुको प्रक्रियाको काम पनि शुरु भएको ।

२. निर्माणाधिन कालिगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका क्षेत्रको वडा नं. ५ को मटेरी ठुलोटार र वडा नं. २ को भलायटारमा विवादका कारण अबरुद्ध सडक निर्माण कार्य सम्पन्न गरिएको ।

३.सार्वजनिक यातायात सेवालाई सहज बनाउन समपुरक बजेट अन्तर्गत डिपिआर अनुसारको बसपार्क सहितको संरचना निर्माणका लागि २६ करोड बढीको टेण्डर प्रक्रिया पुरा भई अगाडी बढाईएको ।

४.युवा स्वरोजगार कार्यक्रम अन्तर्गत उद्यम सञ्चालन चाहने युवालाई विगतमा २० लाखसम्मको व्याजमा थप गरि ३०लाख सम्मको क्रृण ब्याज अनुदान दिइएको । हालसम्म ८१ युवा लाभान्वित भई १३ लाख ६ हजार ५ सय रुपयाँ ब्याज भुक्तानी गरिएको र थप १४ जनको व्याज अनुदान कार्यक्रम सम्झौता भएको ।

५. महिलाहरुलाई विभिन्न वडामा आवश्यकता र चाहाना अनुसार तालिम दिई उद्यमी बनाउन सफल भएको । जहाँ वडा नम्बर १ मा झोल सावुन, २ मा नुहाउने सावुन, ६ मा आलु चिप्स, ८ मा सरफ उत्पादन र ९ मा जुत्ता चप्पल तालिम सहित ३ को दुनापटरी उद्योग सञ्चालनमा सहयोग गर्दै आएको । उत्पादित वस्तु बजारीकरणका लागि आगामी असार मसान्त भित्र निशुल्क व्यापारिक केन्द्र सञ्चालनमा आउने ।

६.डिजिटल प्रविधिमैत्री सेवामा अपाङता, जेष्ठ नागरिक, एकल महिला परिचयपत्र डिजिटल वितरण गरिएको र नगरपालिका कार्यालय सहित वडा नम्बर ४, ५ र ६ को डिजिटल नागरिक वडापत्र जडान गरि सेवाग्राहीलाई सहज बनाइएको ।

७.प्रभावकारी र सरल सेवालाई मध्यनजर गर्दै रामपुर ३,७ र ८ को वडा कार्यालय भवन निर्माण यही बर्ष सकिने गरि निर्माण थालिएको । अन्य बाँकी वडा कार्यालय पनि क्रमशः निर्माण योजना लिएको ।

८.कृषि तर्फ मागका आधारमा ५० प्रतिशत अनुदामा प्रविधि हस्तान्तरण, ७५ प्रतिशमत अनुदामा उन्नत तरकारीका बिउ, खाद्यबाली बिउ बितरण, अदुवा बेसार पकेट विकास कार्यक्रम निरन्तरता, २ र ३ मा ९७ कृषक समेटेर मकै पकेट क्षेत्र कार्यक्रम, १ सय ३१ किसान लाभान्वित हुने गरी ६ र ७ नम्बर वडामा तरकारी बाली विकास कार्यक्रम, २ सय ड्रागन फुटका विरुवा वितरण ।

९.शैक्षिक सुधारमा क्षमता विकास तथा गुणस्तर बृद्धि कार्यका लागि तालिम । मेयर छात्रबृत्ति कार्यक्रम अन्तर्गत ४० विद्यार्थीलाई अध्ययन छात्रबृत्ति, कार्यसम्पादनका आधारमा ५ विद्यालयलाई ५० हजारका दरले अनुदान सहयोग । १ सय २० सहभागीलाई लोकसेवा कक्षा तालिम ।

१०.विद्यार्थी नभएको जनविकास प्राविलाई समायोजन, कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम शुरु गरिएको ।

११. खरको छानो मुक्त कार्यक्रम अन्तर्गत यस बर्ष २१ घर परिवारलाई ४ स २३ पाता टिन वितरण गरिएको । जसमा रामपुर नगरपालिका वडा नम्बर १ मा ६ घर, २ मा १ घर, ३ मा ५ घर, ४ मा २ घर, वडा नम्बर ८ मा २ घर र १० मा ५ घर लाभान्वित रहेको ।

१२.नगरलाई ढल रहित शहर निर्माण गर्न घर निर्माण चरणमा एक घर एक सेफ्टी ट्यांकी अनिवार्य गरिएको छ ।

१३. नगर गौरव योजना अन्तर्गत ७ नम्बर वडाको बिरेन्द्रटारमा औधोगिक ग्राम निर्माणलाई निरन्तरता दिइको जसका लागि यस बर्ष ७८ लाख १० हजार ७ सय ५० रुपँया टेण्डर आह्वानपछि सम्झौता भइसकेको ।

१४. पूर्वाधार तर्फ ३.१७ किलो मिटर सडक कालोपत्रे निर्माणाधिन अवस्थामा रहेको । १७.८७ किलोमिटर सडक ग्राबेल, ९.५२ किलो मिटर सडक नयाँ ट्रयाक, ४.८३ किलो मिटर पक्कि नाली निर्माण, २.३९ किलोमिटर पक्कि कुलो निर्माण गरिएको छ । स्वास्थ्य तर्फ १ वटा भवन , २० वटा सामुदायिक भवन र २२ वटा ट्रस भवन निर्माण सम्पन्न गरिएको । शिक्षा तर्फ ५ वटा भवन र स्वास्थ्य तर्फ १ भवन निर्माणाधिन अवस्थामा रहेको । १२ वटा टंकी निर्माण र १ लिफ्टिङ खानेपानी योजना सम्पन्न गरिएको।

१५.पर्यटन प्रर्वद्धनमा रामपुर ६ कोप्चेघाटमा बाघको ढाँडमा बाघको मुर्ति निर्माण गरिएको । ६ नम्बर वडा कै ज्याग्दी बृहत पार्क, १ को छाँदी झरना र ४को चमेरे गुफा व्यवस्थापनको काम गरिएको ।

१६.नगरपालिका र हेफर प्रोजेक्टको साझेदारीमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजना सञ्चलन गरि बाख्रापालनमा जोड दिइएको । जस अन्तर्गत ३ सय ६१ माउ बाख्रा र ३५ उन्नत जातको बिउ बोका वितरण गरिएको छ । पशुमा फैलिने महामारी रोग विरुद्ध १५ हजार बाख्रालाई खोप दिइएको ।

१७. मजदुरी गर्ने ५ सय ४५ मजदुरको ३ लाख बराबरको दुर्घटना विमा गरिएको ।

१८.विपद्मा सहयोग अन्तर्गत विपद् व्यवस्थापन कोषबाट आगलागी, बाढी पहिरो, दुर्घटना र उपचार समस्यामा परेका नागरिकलाई १० लाख ५१ हजार रुपँया सहयोग गरेको । रामपुर ५ राङभाङमा सडक निर्माण योजना सञ्चालन गर्दा घरबास नरहने नागरिकलाई आवास निर्माणका लागि सहयोग गरिएको । अनाथ बालबालिका, असहाय अशक्त र नागरिकता बिहिन जेष्ठ नागरिकलाई राहत स्वरुप प्रतिमहिना १ हजार ५ सय सहयोग थालिएको छ ।

१९. करको दरभन्दा दायरा बढाउने नितिलाई अबलम्बन गर्दै राजश्व संकलन गरिएको छ । आन्तरिक आम्दानी बढाउन नगरले ग्रेडर, रोलर ब्याकवलोडर खरिद गरेको । यो अबधिमा २ करोड ६४ लाख १७ हजार ९ सय ७९ रुपँया राजश्व संकलन भएको छ ।

२०.नगरपालिकाको यसबर्ष ६ सय ८ योजना मध्य ४ सय ४५ सम्झौता भई ३ सय ७ वटा योजना सम्पन्न भएको र १ सय ३८ वटा योजना सञ्चालनमा रहेको ।

२१.प्रदेश सुशासन केन्द्रको सहयोगमा आबधिक योजना निर्माणको काम शुरु भएको ।

२२.विभिन्न शिविर सञ्चाल गरिएको । नगरभित्र ४२ जना दीर्घ रोगीका लागि नियमित औषधी उपचार खर्च उपलब्ध गराउदै आएको । नगरलाई पुर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा रहेको ।

२३. झण्डै ११ करोड ३३ लाख रुपँया लागतमा लुम्बिनी प्रदेशमै उत्कृष्ठ आधुनिक भौतिक सुविधासम्पन्न रामपुर आयुर्वेद अस्पताल भवन निर्माण सम्पन्न पश्चात पञ्चकर्म सहित सेवा शुरु भएको ।

२४.जेष्ठ नागरिकका लागि ९५ लाखको लागतमा जेष्ठ नागरिक ग्राम र फरक क्षमता भएकाको लागि २० लाख रुपँयाको लागतमा अपाङ्गता गृह निर्माणको टेण्डर प्रक्रिया पुरा भई अघि बढेको ।

२५.नगरपालिकाले यसबर्ष २ वटा नगरसभा र २० वटा कार्यपालिका बैठक बसी विभिन्न योजना, रकमान्तर, शिर्षकान्तर र निर्णय भएको ।

२६. नियमावली, निर्देशिका, कार्यविधिलाई एकीकृत समष्टि गरि (नियमावली, निर्देशिका,, कार्यविधि संग्रह २०७९–खण्ड क) र (रामपुर नगरपालिकाको ऐन संग्रह २०७९– खण्ड क) पुस्तक प्रकाशन गरिएको ।

२७.नगर प्रहरी, यान्त्रिक उपकरण सञ्चालन, प्रेस सल्लाहाकार, उपमेयर ग्रामीण महिला विकास कार्यक्रम कार्यविधि बनाईए र उपमेयर कोशेली घर सञ्चालन, श्रम ऐन लगायतका ऐन तथा कार्यविधि निर्माणको क्रममा रहेको ।

२८.न्याय सम्पादनलाई न्यायोचित बनाउन मेलमिलापलाई प्राथमिकता दिइएको । यसबर्ष ८१ निवेदन विवाद मध्य ५७ वटा मिलपात्र गरिएको २ वटा अदालत पढाइको, ९ वटा छलफलकै प्रक्रियामा रहेको भने १३ वटा छलफल हुन बाँकी रहेको छ ।

२९. खेलकुद विकासलाई मध्यनजर गर्दै नगर खेलकुद विकास समिति गठन गरिएको । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रामपुर नगरपालिका दोस्रो हुन सफल भएको । वडा नम्बर ५ मा कवर्ड हल निर्माण भएको साथै वडा नम्बर ७ मा निर्माणाधिन रहेको ।

साथै नगरपालिकाले जेठ ११ गतेदेखि भु–वर्गीकरणको काम शुरु गरेको यससँगै कृषि र गैर कृषि आवास क्षेत्रका रुपमा कित्ताकाटको काम शुरु गरेको जनाएको छ ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सरुवा भई विगत ९ महिनादेखि रामपुर नगरपालिकामा रहेको र राज्यको निति नियम र परिधिमा रहेर आम नागरिकलाई सरल र सहज सेवा दिन कर्मचारी हरदम तत्पर रहेको उल्लेख गर्नुभयो । उहाँले हालसम्म ४१.५२ प्रतिशत पुजीगत खर्च भएको जानकारी दिदै सेवाग्राहीलाई सेवामा सहजता दिन सेवाग्राहीको फाइल कर्मचारीले सहजीकरण गर्ने, वडाबाटै इन्जिनियरिङ सेवा दिने, स्थायी कर्मचारीबाटै वडागत सेवा दिने लगायतका काम गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले समयमा नै नगरको निति कार्यक्रम ल्याउने प्रतिबद्धता गर्नुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम उपप्रमुख बालकुमारी थापाको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com