के-के भो काम? वर्षदिनमा स्याङ्जाको चापाकोट नगरपालिकामा
स्याङ्जा ।
चापाकोट नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँणले एक वर्षको अबधिमा भएका वार्षिक प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । नगरप्रमुख खाँणले निर्वाचन जितेर आएको १ वर्षको अवधिमा गरेका मुख्य- मुख्य कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो ।
उहाँले सार्वजनिक गर्नुभएका कामहरुमध्ये सडक, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा परेका छन् । नगरपालिकाले एक वर्षको अवधिमा करिब ९ किमि पक्की सडक निर्माण गरेको र वडादेखि नगरपालिकासम्म जोड्ने सडक कालोपत्रे गर्नका लागि प्रदेश र संघ सरकारसँग समन्वय गरिरहेको उल्लेख गर्नुभएको छ ।
चापाकोट नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत कृषि क्याम्पस सञ्चालनको काम अगाडि बढेको उल्लेख गर्नुभएको छ । गुणस्तरीय शिक्षाका लागि यसैवर्षदेखि स्थानीय पाठयक्रमको निर्माण गरी शिक्षकहरुलाई तालिम सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ ।
त्यसैगरी नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य शिविर सम्पन्न गरेको र यसबाट दुई हजारबढी स्थानीय प्रत्यक्ष लाभान्वित भएको उल्लेख छ । उहाँले चापाकोट अस्पतालको भवन निर्माणको क्रममा रहेको र अस्पतालमा डेन्टिस्ट सेवा सञ्चालनमा ल्याएको उल्लेख गर्नुभएको छ ।
पहिलो वर्षका उपब्धिहरु निम्नानुसार रहेका छन्:–
१) करिब ९ किमि पक्की सडक सम्पन्न हुने क्रममा रहेको,
२) करिब २२ टन विभिन्न जातको धानको बीउ नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण,
३) नगरपालिकाभित्रका सम्पूर्ण वडाहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन र २ हजार १७ जना प्रत्यक्ष लाभान्वित,
४) पशु शिविर सम्पन्न गरी १२ हजार पशुलाई भ्याक्सिन दिइएको,
५) चापाकोट नगरपालिकाको गौरव कृषि क्याम्पस सञ्चालन गर्ने कार्य अगाडि बढाइएको,
६) फोहोर मैला व्यवस्थापनका लागि चापाकोट वडा न ४ र ९ मा काम अगाडि बढाइएको,
७) चापाकोट अस्पताल भवन निर्माणको क्रममा रहेको तथा चापाकोट अस्पतालमा डेन्टिस्ट सेवा सञ्चालनमा ल्याइएको,
८) चापाकोट वडा न ८ मा चिस्यान केन्द्र निमार्णको कार्य अगाडि बढाइएको,
९) चापाकोट वडा न ८ मा आयुर्वेद औषधालय निर्माण कार्य भइरहेको,
१०) खेलकुदमा विद्यार्थी तथा युवाहरूलाई अगाडि बढाउनका लागि खेलकुद सामग्रीहरु वितरण गरिएको,
११) गुणस्तरीय शिक्षाका लागि यसै बर्षदेखि स्थानीय पाठ्यक्रम लागू हुने गरी कार्य अन्तिम चरणमा रहेको साथै शिक्षकहरूलाइ तालिम सञ्चालनको कार्य अगाडि बढाइएको,
१२) वडादेखि पालिका जोड्ने सडक बाह्रौँ महिना सञ्चालन हुने गरी स्तरउन्नति भइरहेको, कालोपत्रे गर्नका लागि प्रदेश र संघमा योजना पठाई प्राथमिकतामा राखिएको जनाइएको छ ।