पुर्जा बिहिन शहर पाल्पाको रामपुरमा थप ३ सय ५४ ले पाए लालपुर्जा
पाल्पा ।
अव्यवस्थित बासोबासीलाई पहिलो चरणमा दिइदै आएको जग्गाधनी प्रमाणपुर्जा पाल्पाको रामपुर नगरपालिकाका थप ३ सय ५४ जनाले पाएका छन् ।
राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका हालको वडा नम्बर ५, ६ र ७ का थप ३ सय ५४ अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको हो । यस अघि आयोगले ५० वर्षाै पछि गत पौष ८ गते १ सय ६४ र माघ १० गते ९८ वटा पुर्जा बितरण गरेको थियो । 
राष्ट्रिय भुमि आयोग गठन आदेश २०७५ अनुसार काम गरेको आयोगले पहिलो चरणमा निवेदन दिएका ७ सय ८३ मध्ये हालसम्म प्रक्रिया पुरा गरि ६ सय १६ जनालाई पुर्जा वितरण गरेको राष्ट्रिय भुमी आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहनलाल गैरेले जानकारी दिनुभयो । पुर्जा बिहिन जिल्लाकै पहिलो व्यापारिक केन्द्र रामपुरमा वि.स.२०७१/२०७२ सालदेखि बनेको आयोग मार्फत पुर्जा वितरणको लागि निवेदन आह्वान हुदै आएको थियो । पटक–पटक समिति र नगरपालिकामा निवदेन दिदै आयोग परिवर्तनसँगै पुनः निवेदन दिदै पुर्जाको पखाईमा रहेका नाागरिकले आफ्नै घरजग्गाको जग्गाधनी पुर्जा पाउदा निकै खुसी भएका छन् ।
जग्गाधनी प्रमाण पूर्जा वितरण गर्दै राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष नहेन्द्र खड्काले पुर्जा बितरण गर्दै अव्यवस्थित बसोबास, भुमिहिन नागरिकलाई जग्गाधनी प्रमाणपत्र पुर्जा वितरणमा भुमि आयोग दत्तचित्त भएर लागेको बताउनुभयो । आउदो २ वर्ष भित्र नेपाललाई भूमिहिन र सुकुम्बासी मुक्त बनाउने गरी आयोगले काम गरेको छ, खड्काले भन्नुभयो–स्थानीय तहको सहकार्यमा भुमि आयोगले काम तिब्र पार्दै लगेकाले नेपाललाई अब्यवस्थित बसोबास, भुमिहिन नेपालबाट मुक्त गराउने अठोटमा हामी लागेका छौ ।
देशका लाखौं नागरिक भूमिहिनताको अवस्थामा छन् । अहिले देशैभरबाट साढे १३ लाख भन्दा बढी जनताले राष्ट्रिय भूमि आयोग समक्ष निवेदन पेश गरेका छन् । त्यस्तै ८ लाख ३६ हजार भन्दा धेरै निवेदनहरु कम्प्युटर प्रणालीमा इन्ट्री भएका छन् । १ लाख २५ हजार भन्दा धेरै कित्ता जग्गा नापजाँच भैसकेको छ । हालसम्म २५ सय लालपूर्जा वितरण भैरहेको छ खड्काले भन्नुभयो ‘‘रामपुर नगरपालिकाका ५७ भुमिहिन दलित, ६१ भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी ४ सय २७ जनाको इन्ट्री भएको छ,हामी काम गरिरहेका छौं । उहाँले तत्कालिन जग्गा दर्ता समितिमा त्यस्तो समय उल्लेख नगरेको खण्डमा प्राप्त पुर्जाको श्रेस्ता कायम र अभिलेखीकरण गरेपछि बेचबिखन र बैंकमा राख्न सकिने बताउनुभयो । भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई निशु:ल्क जग्गा र अव्यवस्थित बसोबासीहरुलाई तोकिएको शुल्क लिएर पुर्जा वितरण गर्न सरकारले राष्ट्रिय भूूमि आयोग गठन गरेको स्मरण गर्दै उहाँले राष्ट्रिय अभियानको रुपमा आयोगले लालपूर्जा तयार र वितरण गर्ने काम देशव्यापी गरिरहेको जानकारी दिनुभयो ।

जब पछिल्लो पटक लोकतान्त्रिक र कम्युनिष्ट गठबन्धनको सरकारले बनाएको राष्ट्रिय भूमि आयोग मार्फत अघिल्लो चैतमा भुमी आयोग पाल्पा समितिको गठन सँगै हामीले कामलाई तिब्रता दियौं भुमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरेले भन्नुभयो–यही समितिले पुर्जा दिनुपर्छ भन्ने लक्ष्य लिएर काम गरेकोमा सफलता पाएको बताउनुभयो । पुर्जा नहुँदा रसिदको भरका नागरिकले आफ्नो भईकन पनि आफ्नो हातमा पुर्जा नहुँदाको पिडा मैले देखेको छु गैरेले भन्नुभयो–आयोगले जिल्ला अध्यक्षको जिम्मेवारी दिएपछि जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा नै काम गर्नुपर्छ भनेर जिल्लाको ध्यान पुर्व रामपुरमा खिचेर काम गरेको उल्लेख गर्नुभयो । उहाँले २० प्रतिशत राजस्व अनुसार ६ सय १६ पुर्जा वितरणमा १० करोड २४लाख ९ हजार ६ सय ३७ रुपँया राजस्व संकलन भएको बताउनुभयो । जहाँ ९४ रोपनी, १३ आना, २ पैसा ९८ दाम क्षेत्रफल जग्गाको पूर्जा वितरण भएको छ । अझ सबैलाई दिन सकिएको छैन, एउटै जग्गा ८/१० पटक किनबेच भएको छ यसले कसको निवेदन र कसको नाममा रसिद पुर्जा निकै समस्या दियो, अन्य केही प्रक्रिया नपुगेका पनि छन् त्यसमा पनि निरन्तर काम गर्दै जाने उहाँँको भनाई छ । राष्ट्रिय भूमि आयोग पाल्पाका विज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीले सबैको साथ र सहयोगले निकै फलदायी काम गरेको बताउनुभयो ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले नगरपालिका र आयोग एक भएर काम गरेरै पुर्जा वितरण गर्न सकिएको बताउनुभयो । उहाँले प्राप्त जग्गाधनी प्रमाणपत्रको श्रेस्ता कायम गरि २० प्रतिशत छुटमा अभिलेखिकरण गर्न ३५ दिने सुचना जारी गरेकाले छुटको सुविधा लिन आग्रह गर्नुभयो ।
तत्कालिन समयमा रामपुर गाउँ पञ्चायत, गाविस, शहिद बहुमुखी क्याम्पस, रामतुलसी मा.वि., दरैठाँटी मा.वि., आधारभूत मावि, नवदुर्गा मावि लगाएतका विद्यालयहरुले विद्यालय सञ्चालनको लागि विक्री गरेका थिए ।
बि.स.२०५५ साल सम्ममा विक्री वितरण भएका रसिदको भरमा किनबेच भई भोगचलन गर्दै १० बर्षदेखी आएका सो जग्गामा बसोबास गर्दै आएका रामपुर नगरपालिका ५, ६ र ७ का अर्थात् साविक रामपुर गाबिसका ७ सय ८३ वटा घडेरी मध्ये पूर्जा वितरण गरेको हो । अन्य जग्गाको दोस्रो र तेस्रो सुचना पश्चात् राजश्व दाखिला गरिसकेपछि पुर्जा वितरण गरिनेछ । आयोग अनुसार संयुक्त दम्पती दुवैको नाम पुर्जामा लेखिने हुँदा काम पुरा भएको तर दम्पती मध्ये १ जना बाहिर भएको र राजस्व दाखिला गर्न नसकेका करिव ३९ पुर्जाको काम पुरा भैसकेको छ तर लगिएको छैन । झण्डै काम सकिएका तर केही कागजमा कमी देखिएका ६८ पुर्जाको पनि प्रमाण जुटाउने काम भैरहेको छ ।
भुमि आयोग गठन आदेश ०७५ अनुसार पुरानो काम भएकाले मालपोत मुल्याङ्कनको आधारमा २० प्रतिशत राजस्व दाखिला गरि पुर्जा पाएका छन् । यी बाहेक अब नयाँ निवेदनमा जानेहरुको भुमि आयोग गठन आदेश ०७८ अनुसार हुनेको मुल्याङ्कनको आधारमा ८ देखि २०० प्रतिशत राजस्व दाखिला गर्नुपर्ने हुन्छ ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको पुर्जा वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले स्वागत गर्दै पुर्जा लिन गरेका संर्घष बिर्सेर पुर्जा पाउदाको खुसी र सन्तुष्टि मिल्ने बताउनुभयो । योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको हो ।



