वडाका सरोकारवालालाई व्यक्तिगत घटना दर्ताबारे सचेतना दिदै रामपुर
पाल्पा ।
व्यक्तिगत घटना दर्ता सप्ताहव्यापी सचेतना कार्यक्रम रामपुरका वडाहरुले संचालन गरेका छन् ।
रामपुर नगरपालिका वडा नम्बर ५ ले वडाका सरोकारवालालाई घटना दर्ताबारे सचेतना दिएको छ । बैशाख १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी अभियानको रुपमा सरकारले लगेको कार्यक्रमलाई पालिकाले जनस्तर समक्ष पुर्याएको हो ।
जन्म, विवाह, सम्बन्ध बिच्छेद, बसाइँसराइ र मृत्यु जस्ता अबस्था घटना घटेको ३५ दिनभित्रै गर्नुपर्ने सरकारी प्राबधानलाई व्यबहारिक रुपमा कार्यान्वयन गर्न अभियान चलाइएको हो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सचेतना कार्यक्रमको सहजीकरण गर्दै समयमै सही सुचना राखेर घटना दर्ता गर्न आग्रह गर्नुभयो । कोहीको नियतले र कहिले सेवाग्राहीको हतार र कर्मचारीको आतुरपनाले गडबड हुन पनि सक्ने हुँदा सेवाग्राहीले सहि सुचना दिने र प्रमाणमा शुद्द उल्लेख छ छैन अनिवार्य हेरेर बुझ्नुपर्ने बताउनुभयो ।
पन्जिकरण सुढृढीकरण अन्तर्गत बिगत ३ बर्ष यता हरेक बैशाख शुरुमा सरकारले व्यक्तिगत घटनादर्ता अभियान चलाएको बताउदै गाउँटोल समिति, राजनितिक दल, शैक्षिक सस्था, पत्रकार तथा अगुवाले यसको प्रचारप्रसार गरि सघाउन अनुरोध गर्नुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बढीमात्रमा जन्मदर्ता, नागरिकताका बिषयमा गलत सुचना दिने गर्दा घटनादर्तामा धेरै समस्या आएको बताउनुभयो । उहाँले घटना दर्ता विद्यार्थी भर्ना संगै स्कुलमा अनिवार्य जन्मदर्ता गराउने हो भने केही हदसम्म सहज हुने बताउनुभयो । कार्यक्रममा निवर्तमान वडाध्यक्ष हिमाल मल्लले सोच्दै नसोचेको जटिल केश आउने र सबै सरोकारवालाको सहयोगमा सरल बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडाभित्रका टोल विकास सस्था, सन्चारकर्मी, विद्यालयका शिक्षक प्रतिनिधि, स्वास्थ्य स्वयमसेविका, सामुदायिक वन, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियोे ।
रामपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष दुर्गा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य एवं वडा सदस्य माया नेपालीले सहभागीलाई स्वागत गर्नुभएको थियो भने संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो ।