सेनाको नेतृत्वमा पाल्पाका ऎतिहासिक गढीमा एकीकरण पदयात्रा, पुर्वको केलादीबाट भित्रिन्छ टोली
पाल्पा ।
नेपाली सेनाको नेतृत्वमा पाल्पाको ऐतिहासिक गढी तथा किल्लाहरूमा ऎतिहासिक पदयात्रा हुने भएकाे छ ।
राष्ट्रिय एकताको सन्देश सहित गोरखाबाट निस्केको सेनाको एकीकरण पदयात्रा टोली पाल्पा जिल्लाको ऐतिहासिक स्थलहरुमा पुग्नेछ । जिल्लाका चर्चित बाकुमगढी, माथागढी, तानसेन र नुवाकोट गढी तथा जितगढी किल्लाको भ्रमण गर्ने योजना रहेको नेपाली सेना पाल्पाकाे दि महिन्द्र फेमस दल गणले जनाएकाे छ ।
यही चैत २८ गतेबाट गोरखाबाट ‘ऐतिहासिक गोरखा–जीतगढी’ पदयात्राका लागि हिँडेको टोली वैशाख २ गते पाल्पाको पुर्व रामपुर प्रबेश गर्नेछ ।
पाल्पामा पहिलो पटक रामपुरको केलादीदेखि तिनाउको नुवाकोट गढीसम्म पदयात्रा गर्ने कार्यक्रम रहेको र गोरखा- जितगढी पदयात्राको जिम्मेवारी पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ले गर्ने गणपति बाल मुकुन्द विष्टले जानकारी दिनुभयो ।
पदयात्राले सैनिक र नागरिकबीचको सम्बन्ध सुमधुर हुने, नेपालीको गौरवपूर्ण इतिहासप्रति अभिरुचि बढ्ने, भावी पुस्तालाई इतिहासबारे जानकारी हुने गणपति विष्टले बताउनुभयो ।
अहिलेको पुस्ताले इतिहास बिर्सेदै गएको र पुर्खाहरुले नेपाल एकिकरण गर्ने बेला प्रयोग गरेका पदमार्ग, किल्ला गढीहरुलाई संरक्षण गरेर त्यसलाई जिवन्त राख्नका लागि नेपाली सेनाले देशभर नै यो अभियान सुरु गरेको छ । नेपाल सरकारको नीति अनुसार नै नेपाली सेनाले त्यसको संरक्षणको अभियानको थालनी समेत गरेकाले ऐतिहासिक स्थलको पहिचानसँगै पर्यटन प्रवर्द्धनमा यात्राले सहयोग पुग्ने र राष्ट्रिय एकताको संवैधानिक दायित्वप्रतिको काम हुनेछ ।
सेनाको नेतृत्वका हुने पदयात्रामा आम नागरिक, स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूको सहभागिता रहने दि महिन्द्र फेमस दल गणका मेजर किन प्रधानले जानकारी दिनुभयो । यसबाट ऐतिहासिक गढी तथा किल्लाको संरक्षण गर्न र स्थानीय बासिन्दाको गढी र किल्लाप्रति अपनत्व बढ्नेछ ।
ऐतिहासिक क्षेत्रको संरक्षण पुर्खाहरुको सम्झना मात्रै नभई नेपाल एकिकरणमा भएका महत्वपूर्ण दस्ताबेजहरुको संरक्षण पनि हो । नेपाली सेनाले सुरुवात गरेको यो अभियानले ऐतिहासिक र सामाजिक महत्वका क्षेत्रहरुको संरक्षणमा सहयोग पुग्ने विश्वास छ ।
पाल्पाको केलादी हुँदै जिल्ला प्रबेश गर्ने टोली बाकुमगढी- झडेवा माथागढी हुँदै तानसेन र तानसेन हुँदै तिनाउको नुवाकाेट तथा जीतगढी किल्लासम्म पदयात्रा गर्ने सेनाको योजना छ । उक्त टोलीले वैशाख ७ गते बुटवलमा पदयात्राको झण्डा हस्तान्तरण गर्ने गणले जनाएको छ । पदयात्रामा सहभागी टोलीले १६१ किलोमिटर दुरी पार गर्ने तथा टोलीमा १५० देखि २०० जनाको सहभागिता रहने गणपति विष्टले जानकारी दिनुभयो ।
यसअघि, नेपाली सेनाले गोरखादेखि पूर्वतर्फमात्रै पदयात्रा गरेको थियो । यो वर्षदेखि गोरखादेखि पश्चिम क्षेत्रका ऐतिहासिक स्थलहरूमा पदयात्रा गर्न थालेको जनाएको छ । नेपाली सेनाले गर्न थालेको पदयात्राले सेना र नागरिकको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने सरोकारवालाको भनाइ छ ।
विगतमा जनतासँगै मिलेर एकीकरण तथा नेपाल–अङ्ग्रेज युद्धमा विजयी हासिल गरेको इतिहास रहेकाले पदयात्राले सेना र जनताको सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने इतिहासविद् निर्मल श्रेष्ठले बताउनुभयो ।
पदयात्रा बारे जानकारीमुलक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पाल्पाकाे तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठ, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, पूर्वखाेला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्ताेला तथा अन्य सराेकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे भने सहभागिहरुले ऐतिहासिक क्षेत्रको संरक्षण, प्रर्वद्धन र प्रचारप्रसारका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।