कांग्रेस नेतृत्वको सरकार लागि ५४ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश
लुम्बिनी ।
लुम्बिनी प्रदेशमा कांग्रेसको नेतृत्व सरकार निर्माणका लागि ५४ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेका छन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गर्नुभएको हो । लुम्बिनी सरकारबाट माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलको समर्थन जुटाएर चौधरीले आइतबार मुख्यमन्त्री दाबी गरेका हुन्। उनलाई मुख्यमन्त्री बनाउन ९ दलका ५३ जना सांसदले समर्थन गरेका छन्।

एमालेका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादीका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी जनमतका सीके गुप्ताले आइतबार मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् । दुबै दलले आइतबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन। यससँगै अन्य साना दलले पनि समर्थन फिर्ता लिने तयारी गरिरहेका छन् ।
गिरी गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री गिरीले गत माघ ५ गते माओवादी केन्द्र, जसपा र जनमत पार्टीलगायतका दलको समर्थनमा विश्वासको मत पाएका थिए। माओवादी सरकारबाट बाहिरिएसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४र४, जसपा, लोसपा र जनमत पार्टीका ३र३, स्वतन्त्र २, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेशसभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।