शहीद बहुमुखी क्याम्पस स्वबियु निर्वाचनमा ८२% बढी मत खस्यो, मतगणना शुरु
पाल्पा ।
शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ८२ प्रतिशत बढी मत खसेको छ । कुल ७ सय ८२ विद्यार्थी रहेको क्याम्पसमा ६ सय ४८ मत अर्थात् ८२.८६% विद्यार्थीले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
कुल ७ सय ८२ मतदाता मध्ये ५ सय १६ छात्रा र १ सय ३२ छात्र गरी ६ सय ४८ मत खसेको निर्वाचन अधिकृत सुर्य प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

विहान ८ बजे देखि ४ बजेसम्म भएको मतदानमा विहान देखि नै विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । मतगणना शुरु भएको छ।
२०४८ सालमा स्थापना भएको क्याम्पसमा २०५५ सालदेखि नै नेबिसंघले स्वबियुमा एकछत्र राजगर्दै आएकोमा यसपटक पनि नेबिसंघ आफ्नो पुरानो विरासत जोगाउने दाउमा छ भने अनेरास्ववियु ईतिहास रच्ने दाउमा छ । 
शहिद बहुमुखी क्याम्पस स्वबियु सभापतिमा नेबिसंघबाट ल्याकत अलि र अनेरास्ववियुबाट सभापतिमा सन्देश ढकाल सहितको नेतृत्व उमेदवार छ। अनेरास्ववियु क्रान्तिकारीको साथ रहेको नेविसंघबाट सचिवमा रमेश पोखरेल, कोषाध्यक्षमा तिलक सारु सहित सदस्यमा कसम मल्ल, कविता राना, जयन्त दर्जी, अस्मिता खनाल र महेश राक्से प्रत्यक्षमा छन् ।
अनेरास्ववियुले सचिवमा रमा श्रेष्ठ, कोषाध्यक्षमा दुर्गा वि.क. सदस्यमा अनिता श्रेष्ठ, जानकी बयम्बु, समर बहादुर खन्गाहा, राजन गौतम, सम्बोधन खनाललाई उठाएको छ। 
प्रत्यक्षमा ५ सदस्य र समानुपातिक तर्फ १० सदस्यले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । सभापति, सचिव, कोषाध्यक्ष सहित ५ सदस्य प्रत्यक्ष निर्वाचनबाट र उपसभापति, सहसचिव र ५ सदस्य समानुपातिकबाट चयन हुनेछन् ।
पाल्पाका चार क्याम्पस मध्ये शहीद बहुमुखी क्याम्पस रामपुरमा मात्र निर्वाचन भएको हो ।