बगनासकालीमा अध्यक्ष कप फुटवल प्रतियोगिता सम्पन्न
पाल्पा ।
युवा तथा खेलकुद विकास समिति बगनासकालीको आयोजनामा वडा स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिता चिलाङ्दी खेलमैदानमा सम्पन्न भएको छ ।
बगनासकाली गाउँपालिकाको सहयोगमा भएको प्रतियोगितामा वडा नं १ चिर्तुङधाराको समूह प्रथम, वडा नं ३ नायरनम्तलेसको समुह द्वितिय र वडा नं. ९ चापपानीको समूह तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र ११ हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा बेस्ट गोलकिपरको रुपमा वडा नं. १ चिर्तुङधाराका बुद्ध पुलामी, उत्कृष्ट गोलकर्ताको रुपमा वडा नं. ९ चापपानीका बिनोद राना र बेस्ट प्लेयरको रुपमा वडा नं. ९ चापपानीकै बसन्त राना पुरस्कृत भएका छन् । खेल समापन कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी दर्लामीले गाउँपालिकाले खेल क्षेत्रको प्रवर्धनका लागि बिभिन्न प्रतियोगिताहरु संचालन गर्दै आएको बताउनुभयो । यसअघि पनि पालिका स्तरीय महिला पुरुष भलिवल लगायतका खेलहरु संचालन भएको र आगामी दिनमा पनि खेल क्षेत्र र खेलाडीहरुको हौसलाका लागि पालिकाले योजना बनाउने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले अनुशासित खेलाडीहरुकै माध्यमबाट सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो । बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले खेलाडीहरु उत्साही भएर खेलमा सहभागी हुनु राम्रो पक्ष भएको बताउनुभयो । कार्यक्रम युवा तथा खेलकुद विकास समिति बगनासकालीका अध्यक्ष ओमप्रकाश गैरेको अध्यक्षता र सचिव मिन बहादुर रानाको संचालनमा चलेको थियो ।