पाल्पाका पत्रकार महिलालाई लैङ्गिकमैत्री समाचार लेखन तालिम शुरु
पाल्पा ।
सञ्चारिका समूह पाल्पा शाखाको आयोजना र तानसेन नगरपालिका पाल्पाको समन्वयमा पत्रकार महिलाका लागि लैङ्गिकमैत्री समाचार लेखन सम्बन्धि तालिम पाल्पाको तानसेनमा शुरु भएको छ ।
जिल्लामा पत्रकार महिला उत्पादन गर्न, व्यबसायिक पत्रकारमा निखारता ल्याउन, लैङ्गिक बिषयबस्तु मिडियामा उठाउन र स्थानीय तहका समाचार उठान शैलीका बिषयमा तालिम दिईएको हो ।
पत्रकार महिलाहरुको सस्था सञ्चारिका समुहले महिला पत्रकारलाई स्थापित गर्न तानसेन नगरपालिकाको सहयोगमा तालिम चलाएको हो ।
तालिम शुभारम्भका अबसरमा तानसेन नगरपालिकाका कार्यबाहक नगर प्रमुख यादवसिं कार्कीले पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि नगरले ध्यान दिएको बताउदै पत्रकार महिलाको लेखन शैलीमा यस तालिमले थप सहयोग पुग्ने बताउनुभयो । महिलाको समस्या महिला मात्रैको हो कि? भन्ने बुझाई छ तर महिलाले बढी संबेदनसिल रुपमा हेर्ने हुँदा पत्रकार महिलालाई दक्ष बनाउन तालिमले सहयोग पुग्ने अपेक्षाले तालिम गरिएको हो-कार्कीले भन्नुभयो ।
तानसेन नगरपालिकाका समाजिक बिकास शाखा प्रमुख तथा सूचना अधिकारी भरत आचार्यले पत्रकारले आफूले लेख्ने समाचार शैलीमा परिवर्तन ल्याउन पर्ने बताउनुभयो । उहाँले पछिल्लो समय पत्रकार महिला पत्रकारितामा आउन खोजे पनि स्थापित हुन चुनौती रहेकोले पत्रकारिता तालिमले सहयोग पुग्ने बताउनुभयो ।
पत्रकार तथा प्रशिक्षक किरण कौशलले महिला पत्रकार लक्षित तालिम राख्नु आफैमा उत्कृष्ट भएको र मेहनत गरेर पत्रकारितामा लाग्ने पत्रकारलाई नाम र दाम दुबै भएको बताउनुभयो ।
सञ्चारिका समूह पाल्पाका अध्यक्ष बिन्दु थापाको अध्यक्षतामा भएको तालिम शुभारम्भमा बोल्दै अध्यक्ष थापाले तानसेन नगरपालिकाले महिला पत्रकारको दक्षताका लागि समन्वय गरि सीप ज्ञान बिकासमा गरेको सहयोग सह्रानीय रहेको उल्लेख गर्नुभयो ।
सञ्चारिका समूह लुम्बिनी प्रदेश सदस्य तथा पाल्पा संयोजक गिता ज्ञवालीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव सीता डोटेलले गर्नुभएको हो ।
तालिममा बिभिन्न छापामाध्यम, रेडियो, टेलिभिजन, अनलाइन मिडियामा कार्यरत ३४ जना पत्रकार महिलाको सहभागिता रहेको सञ्चारिका समूह पाल्पाका महासचिव सीता डोटेलले जानकारी दिनुभयो ।
तिन दिनसम्म चल्ने तालिममा पाल्पामा महिला पत्रकारको अवस्था, सुरक्षा, सञ्चारमाध्यममा लैङ्गिकमैत्री समाचार उठान, स्थानीय तहमा समाचार र लैङ्गिक समाचारको खोजी र श्रोतका बिषयमा सिकाइने समुहका कोषाध्यक्ष जमुना पाण्डेले बताउनुभयो ।