रामपुरमा जारी श्रीमद् भागवत् कथा प्रवचनमा भक्तजनहरुको उपस्थिति बढ्दै
पाल्पा ।
गौशालामा रहेका गौमाताको भोजन र व्यबस्थापनका लागि पाल्पाको रामपुरमा आयोजित श्रीमद् भागवत् कथा सप्ताह ज्ञान प्रवचन यज्ञमा दिन घर्किदै जादा भक्तजनको उपस्थिति बाक्लिएको छ ।
अन्य दिनको तुलनामा शनिबार यज्ञ स्थलमा पुग्ने र दान गर्ने श्रद्दालु भक्तजनको भिडभाड बढेको थियो । रामपुर नगर गौशालाको तेस्रो वार्षिक उत्सव पारेर नगर गौशाला व्यवस्थापन समिति रामपुरको आयोजनामा भएको प्रवचनमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर, नवलपरासी, रुपन्देही, चितवन, गुल्मी सहित आसपासका भक्तजनहरुको उल्लेख्य उपस्थिति बढ्दै गएको छ ।
भागवत् मन्जरी राधिका दासीको मुखार विन्दबाट कथा श्रवण, झाकी र भजनमा रम्न दैनिक हजारौंको संख्यामा भक्तजनहरुको उपस्थिति बढेको गौशाला व्यवस्थापन समिति अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।
यो गौशाला गण्डकीबेशी क्षेत्रको गौशाला हो । कृष्णगण्डकीको तट रामपुर ६ तातोपानी धाममा रहेको गौशाला यस क्षेत्र कै व्यवस्थित गौशालाको रुपमा रामपुर नगरपालिकाको पुर्ण सहयोगमा बिकास हुदैछ भने छिमेकी पालिकाले पनि साथ दिदै आएका छन् ।

गौशालाको व्यवस्थापनमा ठूलो लगानी भएकोले अब गाईको दैनिक खुराक खान्की, सरसफाइ तथा अत्यावश्यक निर्माणको लागि संकलित रकम लगाइने अध्यक्ष न्यौपानेले बताउनुभयो ।
अहिले झण्डै डेढ सय गाई गौशालामा छन् । गाइलाई तन्दुरुस्त राख्न दैनिक ठूलो लगानी घाँस पराल चोकरमा जान्छ, त्यसैले यज्ञमा मागेर भन्दापनि गाइको लागि सम्झेर स्वतस्फूर्त दान दिनुभएको छ न्यौपानेले भन्नुभयो ।
महायज्ञमा १२ लाख बढी दान उठेको समितिका उपाध्यक्ष ठानेश्वर अधिकारीले जानकारी दिनुभयो । फागुन ९ गते देखि शुरु भएको भागवत कथा सप्ताह प्रवचन यज्ञ फागुन १५ गते सोमबार सकिनेछ ।

