पाल्पामा बृहत नि:शुल्क मुटु तथा मृगौला परिक्षण शिविर, सयौं विरामी लाभान्वित
पाल्पा ।
पाल्पाको रामपुरमा चलेको मुटु तथा मृगौला रोग सम्बन्धी १ दिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट गण्डकीबेशीका सेवाग्राही लाभान्वित भएका छन् ।
विभिन्न संघसंस्थाको आयोजनामा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवल प्राविधिक सहयोगमा चलेको शिविरमा पाल्पा, स्याङजा, तनहुँ र नवलपुर जिल्लाका नागरिकले सेवा लिएका छन् । ४ जिल्लाको संगम स्थल पाल्पाको पुर्व क्षेत्र रामपुरमा आयोजित शिविरबाट १ हजार २ सय १० जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

नेपालमा झट्ट सेवा लिन सहज नभएको मानिने मुटु र मृगौला सम्बन्धी राखिएको शिविरमा टाढा टाढाबाट स्वास्थ्य चेक गर्न र मुटु तथा मृगौलाको समस्या भएका विरामी परामर्श गर्न शिबिरमा आएका थिए ।
रोटरी क्लब अफ रामपुर, ज्योति पुञ्ज युवा क्लव रामपुर र रोट्रयाक्ट क्लव अफ सेन्ट्रल बुटवलको संयुक्त आयोजना, गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवल, कालिगण्डकी आँखा उपचार केन्द्र रामपुर र शहिद बहुमुखी क्याम्पस रामपुरको जनशक्ति सहयोग एंव रामपुर नगरपालिकाको समन्वयमा शहीद बहुमुखी क्याम्पस रामपुर किसानबारीमा शिविर चलेको हो ।
गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज अलामले उपचार मात्र होइन रोकथाम गर्ने हेतुले अस्पतालले सहकार्यमा शिविर सञ्चालन गरेको बताउनुभयो । स्वास्थ्य जस्तो संवेदनशील कुरालाई वेवास्ता गर्दा घातक रोगको सिकार र एक्कासी मृत्यु भयो भन्ने अबस्था रहेको बताउदै स्वास्थ्यमा खेलवाड नगर्न र नियमित चेकजाच उपचारमा ध्यान दिन आग्रह गर्नुभयो । राज्यले गर्छ भनेर मुख तोकेर हुदैन, आलमले भन्नुभयो–समुदाय आफ्नो लागि आफै लाग्नुपर्दछ । व्यापारी र समुदायमा ठुला गनिने व्यक्तिले बुटवलमा उपचार गर्न अस्पताल चाहिन्छ भनेर मुटु अस्पताल खोलेको र अहिले झण्डै ८ सय सदस्य रहेको बताउदै सबैका लागि र आफ्नै लागि हो भनेर समुदायमा काम गर्न सकेमा थप प्रभावकारी हुने उहाँले बताउनुभयो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले खानपान र दैनिक अब्यवस्थित व्यवहारले रोग निम्तिएको बताउदै खानपान र दैनिक व्यायाममा ध्यान दिन अनुरोध गर्नुभयो । स्वास्थ्य परिक्षण गर्ने बानी पनि छैन र थाहा पाएर पनि हेलचेक्र्याईले अकालमै ज्यान गुमाउनु परेको अबस्थामा संवेदनशिल अंग मुटु, मृगौलालाई प्राथमिकता दिएर शिविर सञ्चालन गर्नु आफैंमा उल्लेखनीय रहेको बताउनुभयो । उहाँले परिक्षण सँगै नियमित उपचार गर्नुपर्ने आर्थिक अबस्था कमजोर भएका बिरामीको लागि उपचारमा सहयोग गर्न आग्रह गर्नुभयो ।
आयोजक संस्था ज्योति पुञ्ज युवा क्लवका अध्यक्ष सुदिप गौतमले शहर देखि टाढा रहेको रामपुर क्षेत्रका नागरिकलाई गाउँमै सहज सेवा दिन मुटु, मृगौलाको परिक्षण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो । रामपुरमा डाइलायसिसको सेवा अत्ति आवश्यक रहेको जानकारी गराउँदै तथ्याङ संकलन भैरहेको बताउनुभयो ।
रोटरी क्लव अफ रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले ४ जिल्लाको संगम स्थलमा शबिर सञ्चालनले धेरै जिल्लाका नागरिकले सेवा लिन सकेको बताउनुभयो ।
रोटरी क्लव अफ रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षता, रोट्रायाक्ट क्लव अफ बुटवलका कोषाध्यक्ष प्रेमप्रकाश श्रेष्ठको स्वागत र रोटरी क्लव अफ रामपुरका सचिव सुर्यप्रसाद घिमिरेको संचालनमा कार्यक्रम भएको हो ।
शिविरमा ईसिजि, ईको तथा प्रयोगशाला सेवा, रक्त परिक्षण सेवा संगै विशेषज्ञ डाक्टरहरु मार्फत मृटु तथा मृगौलाको परिक्षण गरिएको थियो । विशेषज्ञ शिविरबाट स्वास्थ्य परिक्षण संगै औषधी निशुल्क प्राप्त भएपनि स्थानियहरु खुशी भएका छन् । आफ्नै गाउँ ठाउँमा शिविरमार्फत सेवा पाउँदा चढिसकेको गर्मी र घाममा समेत बिरामीहरु उत्साहित भएर लामबद्ध रुपमा पालो पर्खेर सेवा लिएका थिए । सेवाग्राहीलाई सहज सेवा दिलाउन आयोजकले स्वंयम सेवक परिचालन गरेको थियो । नेबि संघले सहायता सेवा दिएको थियो ।

शिविरको लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले अवलोकन गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पताल सहित आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।