शिवरात्रीमा तात्यो रामपुर महोत्सव, एकैदिन २५ हजार जनाले गरे अवलोकन
पाल्पा ।
शनिबार शिवरात्रीको दिन पाल्पाको रामपुरमा जारी महोत्सवमा अहिलेसम्मकै धेरै दर्शकको भिडले महोत्सव तातेको छ ।
शनिबारमात्रै २५ हजार दर्शकले मेला अवलोकन गरेको आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । मेलाभरमा शनिबार अहिलेसम्मकै दर्शकको खचाखच भएको उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो ।
संघका उद्योग उपाध्यक्ष तथा महोत्सवका टिकट व्यवस्थापन उप-समिति संयोजक भरतराज देवकोटाले शनिबार २५ हजार टिकट विक्री भएको जानकारी दिनुभयो। शनिबार शिबरात्री र बिदाको दिन परेको साथै आइतबार लगातार बिदा हुनाले महोत्सवमा हालसम्मकै सर्वाधिक दर्शक प्रवेश गरेको ढकालको बताउनुभयो ।
शनिबार भलिबल खेलतर्फ पनि उत्तिकै दर्शकले खेलको मजा लिएका छन् । खेल तर्फमात्रै ३ हजार बढी दर्शकले जिल्ला स्तरीय भलिबल खेल हेरेका छन् । शनिबार रामपुर महोत्सवमा लोक तथा दोहोरी गायक राम जि खाण, लोकदोहोरी गायिका शुशिला गौतम, हास्यकलाकार सुमित कुमार घिमिरे, गायक कृष्ण सुवेदी, राजेन्द्र कंडेल लगायतको बेजोड प्रस्तुति रहेको थियो ।
शनिबार शिवरात्री विशेष भएकोले पुजाआजा गरि मेला भर्न आउनेको संख्या बढेको हो । बिहान स्नान गर्न र मन्दिर पुजापाठ सकेर दिउँसो महोत्सव छिर्ने दर्शकको शिबरात्री पुजा टिका सहित महोत्सवमा भिड देखिन्थ्यो ।
शिबरात्री विशेष कलाकारको उद्घोष र सांस्कृतिक कार्यक्रम बिच पाहुना कलाकारले दर्शकलाई छमछमी नचाएको संघका महासचिव खिम बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
३०० स्टल र बालउद्यान समेत रहेको मेला अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा बिशेष सहुलियतका लागि ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । महोत्सवको नवौं दिनको भिडभाड संगै १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको संघका कोषाध्यक्ष राजेन्द्र देवकोटाले जानकारी दिनुभयो ।
आगामी फागुन ८ गतेसम्म संचालन हुने मेलामा व्यापारिक स्टल, होटेल तथा रेष्टुरेन्टका २२ स्टल, यस क्षेत्रका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, घोडा सवार, स्थानीय कृषि तथा पशु पांक्षी, उत्पादित बस्तु, सुरक्षा सचेतना, स्वास्थ्य सेवा लगायतका स्टल छन्।
आइतबार चर्चित गायिका रचना रिमाल, तेजस रेग्मी,लोक दोहोरी गायक जीवन सिग्देल, अस्मिता धुर्लाकोटी, अनिस बिष्ट लगायतका कलाकारको प्रस्तुति रहने महोत्सवका सास्कृतिक संयोजक दिपक के.सी. ले जानकारी दिनुभयो ।