रामपुर महोत्सवमा रमाइलो थपिदै, नृत्य, लोकदोहोरी र जिल्ला स्तरीय भलिवल प्रतियोगिता हुने
पाल्पा ।
“आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार” सहितको नारालाई सार्थक तुल्याउदै संघको भवन निर्माण, आर्थिक मन्दीले चौपट व्यापार व्यबसायलाई सहयोग पुर्याउने गरि आयोजित रामपुर महोत्सव तथा व्यापार मेला रमाइलो थप कार्यक्रम र प्रतियोगिता थपिएका छन् ।
गत माघ २७ गतेदेखि जारी महोत्सवको दिन घर्किदै जादा मेला महोत्सवमा रौनकता थपिदै गएको छ । महोत्सवको चौथो दिन देखि दैनिक लोक सांगेतिक रमझम संगै अन्य प्रतियोगिता शुरु गर्ने उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष तथा मेला मुल आयोजक समितिका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो ।
रामपुरको मुख्य बजार बेझाडबजार पुर्व तर्फ रहेको रामतुलसी नमुना माबिको खेलमैदानमा जारी महोत्सबमा फागुन १ गते सोमबारदेखि नृत्य प्रतियोगिता सन्चालन हुने भएको छ ।
खुला नृत्य प्रतियोगितामा यस क्षेत्रका जो कोहीले पनि भाग लिन सक्ने संघका वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
लोकदोहोरी गीत संगीतको खानी कालीगण्डकी उपत्यकालाई मध्यनजर र दर्शक स्रोताको मनोरञ्जन साथै आबश्यकता महसुस गरि भोलि फागुन २ गतेदेखि लोकदोहोरी गीत प्रतियोगीता संचालन हुने आयोजकले जनाएको छ ।
पाल्पा जिल्लामा भलिबल खेलको क्रेजलाई मध्यनजर गर्दै महोत्सवमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना हुनेछ । फागुन ३ गते बुधबार देखि भलिबल प्रतियोगीता हुने भलिबल खेल संयोजक शंकर खाणले जानकारी दिनुभयो ।
महोत्सवको चौथो दिन फागुन १ गते चर्चित बालकलाकार सुप्रिम मल्ल, लोकदोहोरी गायिका आरती रुचाल, मोहन खड्का, प्रकाश पराजुली र हास्य कलाकार नीर आलको प्रस्तुती रहनेछ ।