१० जिल्लाको सहभागितामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता पाल्पाको रामपुरमा हुने
पाल्पा ।
पाल्पाको रामपुरमा हुने जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
रामपुरमा जारी तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अबसर पारी जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रायोजन सहयोगमा हुने खेल मैदान र अन्य व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो ।
महोत्सव स्थल रामपुर बेझाँड रामतुलसी नमुना माबिको खेलमैदानमा आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म हुने जिल्ला स्तरीय भलिवल खेलमा पाल्पा सहित छिमेकी जिल्लाको सहभागिता रहने जिल्ला भलिबल संघले जनाएको छ । ‘‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद‘‘ भन्ने नारा सहित आयोजित राष्ट्रिय खेल भलिबल खेलको ९० प्रतिशत काम सकिएको भलिबल प्रतियोगिता संयोजक शंकर बहादुर खाणले जानकारी दिनुभयो ।
प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर, नवलपरासी, बाग्लुङ, पर्वत, गुल्मी, कास्की, रुपन्देही सहित छिमेकी १० जिल्लाका जिल्ला भलिवल संघले सहभागिता जनाउनेछन् । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक खाँणले बताउनुभयो ।
भलिबल खेलको क्रेज बढिरहेको रामपुर क्षेत्रमा महोत्सवको समयमा विगतमा इन्डो नेपाल भलिबल खेल सहितको अन्तराष्ट्रिय भलिवल प्रतियोगिता भइसकेको छ । राष्ट्रिय भलिबल खेलका खेलाडी सहितको राष्ट्रिय स्तरको खेल अहिले हुने जिल्ला भलिवल संघका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई विभिन्न ६ विद्यामा नगद ५/५ हजार रुपँया र ट्रफी प्राप्त गर्नेछन् । साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको उपाधि नगद १ हजार र ट्रफी प्रदान गरिनेछ । टिकट सिस्टमबाट सञ्चालन हुने प्रतियोगिताबाट संकलित रकम भलिबल खेलको संस्थागत विकासमा लगाइनेछ ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले उद्योग वाणिज्य संघ रामपुर महोत्सवको आयोजक भएपनि समग्र रामपुरको गौरब भएकोले यही अबसरमा भलिवल खेल चलाउनु थप आकर्षण भएको बताउनुभयो । रामपुर क्षेत्रको विकासका लागि यसैगरि सबै लाग्नुपर्नेमा जोड दिदै ढकालले महोत्सव हुदा मात्र होइन, सधै भरी रामपुरको समग्र बिकासको लागि द्रुत गतिमा दौडन सक्छौ तर यसका लागि सहकार्य र उत्साह हुनुपर्छ उहाँले भन्नुभयो । यो भलिबल खेलले गण्डकीबेशीको खेल जगतमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने उहाँको भनाई छ ।
भलिबल प्रतियोगिता संयोजक शंकर बहादुर खाँणको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष कमल सेनले स्वागत गर्नुभएको थियो भने जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले धन्यवाद र सञ्चालन पत्रकार दुर्गेश मल्लले गर्नुभएको हो ।
