राष्ट्रपतिको निर्वाचन मिति सम्बन्धमा आज निर्वाचन आयोगले निर्णय गर्ने
काठमाडौं ।
आज निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन मिति सार्वजनिक गर्ने भएको छ ।
निर्वाचनको मिति संगै चुनावी कार्यतालिका सार्वजनिक गर्न लागेको हो । आयोगले आगामी फागुन २५/ २६ गतेलाई मिति तोक्ने तयारी गरेको बुझिएको छ ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगलाई राष्ट्रपतिको निर्वाचन तत्काल तोक्न आइतबार माग गर्नुभएको थियो।
सत्तारुढ एमालेले राष्ट्रपतिको निर्वाचनको मिति पछि सार्ने रणनीति बनाएपछि कांग्रेसले दबाब दिन थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साता प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बोलाएर राष्ट्रपतिको निर्वाचनबारे जानकारी लिनुभएको थियो ।
राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा अहिले सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छलफलमा जुटेका छन् ।
कांग्रेसले माओवादी केन्द्रले राष्ट्रपतिमा आफूलाई सहयोग गर्ने अपेक्षा गरेको छ । तर एमालेले माओवादीलाई कांग्रेसलाई सहयोग नगर्न दबाब दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिँदैछ । त्यसैले फागुन २८ गतेअघि नै राष्ट्रपतिको निर्वाचन गराउने तयारीमा निर्वाचन आयोग छ ।