स्याङ्जाको चापाकोटमा प्रदेशस्तरिय प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता हुने
स्याङ्जा ।
स्याङ्जाको दक्षिणी भेग चापाकोट नगरपालिकामा गण्डकी प्रदेशस्तरिय प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
यहि पुस २५ र २६ गते प्रदेशस्तरिय छनोट प्रतियोगिताका लागी चापाकोट नगरपालिका सुन्तलीटारमा रहेको गंगालाल खेलमैदानमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता गर्नेछ ।
छनोट खेलमा नवलपुर, कास्की र स्याङ्जा गरी तीन जिल्लाका टोली सहभागि हुनेछन् । प्रतियोगिताको सम्पूर्ण खेल गंगालाल खेल मैदानमा हुनेछ ।
राष्ट्रिय स्तरको प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता पुस २९ देखि सुनसरी जिल्लाको इटहरी स्थित जनता क्रिकेट पार्कमा हुनेछ ।
प्रतियोगितामा सात प्रदेश र एक विभागीय गरी ८ टोलीको सहभागिता रहनेछ । खेल लिग कम नकआउटको आधारमा टोलीलाई दुई समूहमा विभाजन गरेर हुनेछ ।
प्रत्येक समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने गरि प्रतियोगितामा कुल १८ खेल हुनेछन् ।
प्रतियोगिताको विजेताले पाँच, उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २० हजार रुपैयाँ पाउनेछन् । यसैगरी प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ घोषित गरिनेछ जसले ३ हजार प्राप्त गर्नेछन् ।