2

Logo २०८३ बैशाख १३ आइतबार
रहरले पालेको माउबाख्राबाट फस्टाउदै नारायणको बाख्रापालन व्यबसाय

रहरले पालेको माउबाख्राबाट फस्टाउदै नारायणको बाख्रापालन व्यबसाय


Sabalnews प्रकाशित मिति : बिहिबार, पौस १४ २०७९
1.9K

पाल्पा।

रहरले ल्याएर पालेको माउबाख्रा फस्टाउन थालेपछि पाल्पा रामपुरका नारायण भण्डारीले बाख्रापालन व्यबसाय नै शुरु गर्नुभएको छ ।

छोटो समयमै बाख्रापालन व्यवसाय फस्टाउन थालेपछि बाख्रापालनमा भविष्य देख्नुभएका भण्डारीको नाम अहिले जिल्लाको बाख्रापालन व्यबसायमा कहलिएको छ ।
आफ्नै १ रोपनी जग्गामा खोर र भाडामा घासखेती गरि बाधेरै पाल्ने गरि बाख्रापालन शुरु गर्नुभएका उहाँको फर्ममा अहिले ५९ बाख्रा छन् । निर्मल पशुपक्षी कृषि फार्म दर्ता गरि गतबर्षदेखि  रामपुर ५ राङभाङमा व्यावसायिक तवरबाट उहाँले बाख्रापालन गर्नुभएको हो ।

उहाँको फार्ममा कुल ५९ बाख्रामध्ये २७ माउबाख्रा छ । अन्य साना पाठापाठी छन् । एक वर्ष पूरा नहुँदै बाख्रा बिक्री गरिसक्नुभएको छ । मनग्य आम्दानी हुने देखेरै बाख्रापालन व्यबसाय शुरु गरे भण्डारीले भन्नुभयो- बाख्रापालन व्यवसायमा उत्साहित छु । आफ्नै जग्गामा पक्की खोर र घाँसपात खाने संरचना तयार छ । खोर बाहिर तारबेर गरिएको खुला स्थानमा बाख्रालाई घाँस र पानी दिइन्छ ।

करिब १ सय २० बाख्रा अट्ने क्षमताको खोर छ । माउ, पाठापाठी र भर्खरै ब्याएका बाख्रालाई फरक–फरक खाना ( खोर पाटेसन) मा राख्ने गरिन्छ । राम्रो स्याहारसुसार घाँसपास खुवाएमा एक वर्षमा ४५ किलोसम्मको खसीबाख्रा उत्पादन हुने नारायणले बताउनुभयो । खोर निर्माणमा २५ लाख र बाख्रा खरिदमा १० लाख रुपैया गरी करिव ३५ लाखको लगानीमा भण्डारीले व्यवसाय सञ्चालन गर्नुभएको हो ।

साउदी अरबमा २ वर्ष र भारतमा १३ वर्ष काम गरेर फर्कनुभएका भण्डारीले गाउमै केही गर्ने अठोट बुन्नुभयो । जिप किनेर झण्डै ६ वर्षसम्म रामपुर क्षेत्रमा जिप चलाउनुभएका नारायणले धेरै क्षेत्रको अनुभवले दिगो र भरपर्दो आम्दानीका लागि बाख्रापालनको थालनी गरेको बताउनुभयो ।
विभिन्न क्षेत्रको अनुभव बटुल्नुभएका भण्डारीले परिवारको आयआर्जनको दरिलो स्रोतका रूपमा बाख्रापालन व्यवसायलाई अँगाल्नुभएको छ ।

व्यबसायमा श्रीमती भगवतीको दरिलो साथ नारायणलाई छ। हुर्किदै गरेका छोराहरुले पनि बाख्रा स्याहारमा चासो दिने आमा भगवतीले बताउनुभयो । भण्डारी दम्पतीका ३ भाइ छोरा छन् । ठूलो छोरा भारतीय सेनामा छन् । माइलो, कान्छो छोरा बाख्रा झिक्न थुन्न, कुडो पानी, घाँस देखि मिल पनि हेर्छन् । भण्डारीको घरमा बिगत ५ बर्षदेखि मिल पनि छ । धान, मकै कुट्ने पिस्ने मिल भएर नै बाख्रा पाल्न सहज भएको हो । बाख्रालाई दाना भुस चोकर मिलाएर दिनुपर्छ बाहिर किन्न र पिस्न जान धौ-धौ हुन्थ्यो अहिले मिल र दानापानीको कुनै समस्या छैन । घासमा सुपरनेपिएर, वर्षिम जातका घाँस छर्नुभएको छ ।

भण्डारीको व्यबसायमा लायकका पाठापाठी छन् । यहाँ ४ किलो २ सय ग्रामसम्मको पाठो जन्मिएको भगवतीले सुनाउनुभयो । बीउ उत्पादनका लागि बोयर जातका दुईवटा बोका पाल्नुभएको छ । स्थानीय बोयर क्रस, जनुनापारी, खरी जातका बाख्रा फार्ममा छन् । बाख्रा राखेको ९ महिनाको अबधिमा ९ वटा खसी बिक्री गरिसक्नुभएको छ । जसबाट २ लाख ५० हजार आम्दानी भएको नारायणले बताउनुभयो ।फर्मबाट ३२ किलोसम्मको पाठो उत्पादन गरी बिक्री गरेपछि बाख्रापालनमा उहाँको ध्यान झनै तानेको छ । “बाख्रापालनबाट राम्रो कमाइ हुने रहेछ, नारायणले भन्नुभयो- परिवारसँग बसेर स्वतन्त्ररूपमा व्यवसाय गर्न पाइएको छ, अब साहु र हाकिमको किचलो देखि बिदेशीको गुलाम हुनुभन्दा यही घरकै खाएर काम गर्नु ठिक छ ।”

यस क्षेत्रकै नमूना बाख्रापालन व्यवसायका रूपमा चिनिनुभएका भण्डारी बाख्रापालन व्यबसायी संघ जिल्ला उपाध्यक्ष समेत हुनुहुन्छ । बाख्रापालन फस्टाउदै लाने र १ सय माउ बाख्रा पुर्याउने लक्ष्य उहाँको छ । बजारको माग धेरै छ, सके जति पनि कट्छ नारायणले भन्नुभयो – माउ धेरै गराउनुछ, पाठा लायकको भएपछि बिक्री गरेका छौ  । रामपुर क्षेत्रमा जिउदो खसी प्रतिकिलो ५ सय ५० मा बिक्री भइरहेको छ । अब व्यवसाय बढ्दैछ । वार्षिक रूपमा राम्रो आम्दानी लिने भण्डारीको लक्ष्य छ ।

अहिलेसम्म राज्यको कुनै अनुदान सहयोग पाउनुभएको छैन ।  रकम अनुदान र प्राबिधिक सहयोग नपाएपनि आफ्नो ज्ञान सीप लगाउदै आउनुभएको छ । ५० प्रतिशत अनुदान कार्यक्रमबाट यसबर्ष लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने खबर पाएको बताउनुभयो ।

बाख्रापालन थालनी गरेपछि यसमा आनन्दसँग परिवारका साथ जीवन ब्यतित भएको छ। हिजो कमाइ नहुदा टाढिएका आफन्त, छरछिमेक, साथीभाइ अहिले बाख्रापालनबाट राम्रो हुन थालेपछि नजिकिन थालेको भगवतीको अनुभव छ । श्रीमान बाहिर, आफू स-साना छोराछोरी हुर्काउन कम्ता गाह्रो थिएन,“परिवारको आयस्रोत नहुँदा ऋण पनि नपाइने बेला थियो अहिले कमाउन सक्ने भएपछि सबै नजिक भएका छन्,भगवतीले भन्नुभयो- म यसैमा खुशी छु। पाँच/सात महिनामा पुनः पाठा बिक्री गर्न लायकका हुन्छन्, दैनिकी बाख्राको स्याहारमा बितेको पत्तो हुन्न ।

बाख्रापालन क्षेत्रमा भण्डारी दम्पती समाजका उदाहरणीय पात्र बन्नुभएको छ । पाल्पामा पछिल्लो समय व्यवसायिक बाख्रापालन गर्नेहरु बढेका छन् । बजारमा खसीबोकाको माग र मूल्य अत्यधिक हुँदा व्यवसायीमा बाख्रापालनले उत्साह थपेको छ । बाख्रापालनलाई बढाउदै यसमै भविष्य देखेका भण्डारी दम्पतिले पछि यही व्यबसाय सन्तानले अंगाले हुने बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com