2

Logo २०८३ बैशाख १३ आइतबार
काउलेडाँडा कबुलियत बनबाट २ करोड बराबरको कुचो उत्पादन हुने

काउलेडाँडा कबुलियत बनबाट २ करोड बराबरको कुचो उत्पादन हुने


Sabalnews प्रकाशित मिति : बिहिबार, पौस १४ २०७९
897

पाल्पा ।

निस्दीको पर्यटकीय काउलेडाँडाबाट यसवर्ष २ करोड बराबरको कुचो उत्पादन हुने भएको छ ।

निस्दी गाउँपालिका ३ झिरुबासको काउलेडाँडा कबुलियत बन समुदायलाई हस्तान्तरण बन हो । २ सय ४६ हेक्टर क्षेत्रमा फैलिएको अम्रिसोबाट झिरुबासको मात्रै नभएर सिंगो निस्दीकै पहिचान र गौरव बढाएको छ । गतवर्ष यहाँको कुचोबाट २ करोड बराबरको आम्दानी लिन सफल भएको र यसवर्ष पनि त्योभन्दा कम नहुने स्थानीय उपभोक्ता राम बहादुर पाटाले बताउनुभयो। पछिल्लो समय काउले डाँडामा घुम्न आउनेको संख्या दिनदिनै बढदै गएको छ । यहाँको अम्रिसोले यतिबेला सबैको ध्यान तानेको छ ।

काउलेडाँडा आम्दानीको स्रोत मात्रै नभएर आन्तरिक पर्यटनको मुख्य आकर्षण केन्द्र समेत बनेको छ । हिजोआज यस ठाउँमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । इलामको चिया बगान जस्तै देखिने काउलेडाँडामा अम्रिसो बगान छ । जतासुकै अम्रिसो नै अम्रिसोको घारीले ढाकेको छ । यहाँबाट उत्तरतिर हेर्दा माछापुच्छ्रे , धौलागिरी तथा अन्नपूर्ण हिम शृङखला देख्न पाइन्छ । दक्षिणमा तराईको समथर भुभागका साथै भारतको त्रिवेणी आसपासको क्षेत्रसम्म देख्न सकिन्छ ।

काउलेडाँडा जाँदा बाटैमा पर्ने खादरको कुँडुले घर तथा आसपासको मगर बस्तीले समेत सबैको मन लोभ्याउने गरेको छ । विशेषगरी दशैं तिहार र हिउँदको समयमा यहाँ घुम्न आउनेको भिडभाड हुने गर्दछ । घुम्नको लागि प्रायः नेपाल अधिराज्यका सबै जिल्लाबाट आउने गरेको स्थानीय वीर बहादुर पाटाले बताउनुभएको छ । छिमेकी जिल्ला तथा पालिकाहरुबाट दिनहुँ जसो आउने गर्दछ । शनिबार तथा बिदा परेको बेला एकै दिनमा दर्जनभन्दा बढी बसमा घुम्न र बनभोज खाना आउने गरिन्छ ।

यहाँ घुम्न आउनेहरुको लागि व्यवस्थापनको जिम्मा इन्द्रेणी कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झिरुबासले लिएको छ । सहकारीले टिकट काट्न र अन्य व्यवस्थापनको लागि कर्मचारीको व्यबस्था छ । यहाँ घुम्न आउँदा बसको १ हजार रुपैयाँ लाग्दछ । जीपको ५ सय र मोटरसाइकलको ५० रुपैयाँ र प्रतिव्यक्ति २० रुपैयाँ टिकट शुल्क छ ।यो स्थान जिल्ला सदरमुकाम तानसेनबाट करिब ८० किलोमिटर पुर्बमा पर्दछ ।

निस्दीको मात्र नभएर जिल्लाकै पर्यटन क्षेत्रको आकर्षण केन्द्र काउलेडाँडा पहिले नाङ्गो डाँडा थियो । बनमारा झाडी भित्र स्थानीयले गाईबस्तु चरणका लागि प्रयोग गर्थे। वि. स. २०६७ सालमा कबुलियती वन समूह दर्ता गरेर अम्रिसो लगाइएको हो । शुरुमा १ सय १५ हेक्टर क्षेत्रमा २ सय १५ घरधुरी मिलेर अम्रिसो लगाएको काउलेडाँडा कबुलियती वन अन्तर समूहका अध्यक्ष दमन सिंह थापाले बताउनुभयो । हाल यो वन २ सय ४६ हेक्टरमा फैलिएको छ । झिरुबासका २ सय २७ घरधुरी आवद्ध रहेका छन्। विभिन्न १८ वटा उप- समूह मिलेर काम गर्दै आएका छन्। पर्यटकको आकर्षण बढाउनको लागि मन्दिर तथा ठाउँ-ठाउँमा प्रतिक्षालय बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा ५ सय जना क्षमता भएको सभाहल सहितको कुँडुले घर पनि निर्माण गरिएको छ ।

अम्रिसोले कालाे तथा बलाैटे माटाे रुचाउने भएकाेले मध्य पहाडी क्षेत्र बढि उपयुुक्त देखिने निस्दी सव डिभिजन बन कार्यालय मित्यालका प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभएको छ । अम्रिसोबाट धेरै आम्दानी लिन समय-समयमा गाेडमेल गर्ने, मुना पलाउने समयमा मुसाबाट जोगाउन र मलकाे मात्रा पुर्ति गर्न नियन्त्रित आगाे लगाउदा राम्रो हुने अधिकारीको भनाइ छ । अम्रिसाे खेतबारीको छेउछाउमा समेत हुने हुँदा याेसँगै अन्य कृषिजन्य बाली लगाउदा कृषकलाई दाेहाेराे फाईदा हुने गर्दछ । यसबाट विशेषगरी कुचो बनाउन आवश्यक कच्चापदार्थ सँगै डाँठबाट कागज बनाउन प्रयोग गरिन्छ । साथै यसको घाँस गाईबस्तुलाई अति उपयोगी हुने गर्दछ । अम्रिसोको गुच्छे जरा हुने हुँदा माटो बग्न नदिई भु-संरक्षणको लागि समेत उपयुक्त हुने अधिकारीले बताउनुभएको छ ।

काउले डाँडाको आन्तरिक पर्यटन प्रवर्द्धनको लागि पालिकाले डीपीआर सहितको विशेष योजना अगाडि सरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । काउलेडाँडाले निस्दीको आन्तरिक पर्यटन प्रवर्द्धनमा मात्रै टेवा पुर्याएको छैन । यहाँको जीवनस्तर नै परिवर्तन गरिदिएको छ । आम्दानीको मुख्य स्रोत नै बनेको अध्यक्ष सारुको भनाइ छ । निस्दीको आन्तरिक स्रोतको आधार काउले डाँडाको अझ विकास र व्यवस्थापनको जरुरी देखिन्छ । आन्तरिक पर्यटन प्रवर्द्धनको हिसाबले समेत काउले डाँडालाई स्थानीय सरकार र अन्य निकायको पनि निरन्तर सहयोगको खाँचो देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com