“लक्ष्मीनारायण गुठी लक्ष्मीनारायण संग्रहालयको रुपमा विकास हुदै”
पाल्पा ।
बाटो हिड्ने बटुवाको भारी बिसाउने चौतारो बनेको पाल्पा रामपुरको लक्ष्मीनारायण गुठीको पाटी अहिले पुनःनिमार्णसँगै संग्रहालयको रुपमा विकास भएको छ । गुठीले सञ्चालन गर्न नसक्ने र भत्किएको ऐतिहासिक धर्मशालालाई ठुलो बजेट नहुँदा पुर्ननिर्माण गर्न असहज भएको समयमा विनासकारी भुकम्प पश्चात् पुरात्वात्विक विभागले पुर्ननिमार्ण गरेपछि यसले रुप फेरेको छ ।
ऐतिहासिक र पुरात्वात्विक भएरपनि उद्धार नहँदा भुतबंगालको रुपमा बनेको खोप्टार लक्ष्मीनारायण पाटी आधुनिक समयमा पुरानै शैलीको पुर्ननिर्माणले सबैको मन तानेको छ । अहिले निर्माणको काम सकिएको छ भने रङ रोगनको काम बाँकी छ । यहाँ शौचालय, चारैतिर पर्खाल लगाउने बाहिरी काम बाँकी छ ।
पुरातत्व विभाग अन्तर्गत रु ३ करोड ६ लाख ५३ हजारको लागतमा धर्म एस.निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी भदौदेखि निर्माण कार्य सुरु गरेको थियो । आगामी असार मसान्तमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा निर्माण कम्पनीले तोकेको समयभन्दा अघि नै निर्माण पुरा गरेको हो ।
लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) सञ्चालन हुँदै आएको थियो । कलात्मक शैलीमा पुरानै स्वरुपमा बनाइएको धर्मशालालाई संग्रहालयको रुपमा विकास गर्ने योजनामा समिति र स्थानीय सरकार छ ।
कलात्मक शैलीबाट बनेको धर्मशालामा पछिल्लो पुस्ता अबलोकनमा पुग्ने गरेको छ । सामाजिक सञ्जाल, टिकटक, फेसबुकमा पोष्ट गर्न देखि नबविवाहित दम्पती फोटो सुटमा धेरै पुग्ने स्थानीय जयन्ती घिमिरेले बताउनुभयो । हाल दैनिक र्२ सय बढी आन्तरिक पर्यटक यसरी अवलोकनमा आउनेछन् । एक जना स्थानीयलाई समितिले सरसफाईमा खटाएको छ ।
बिस.१८८९ सालको ताम्रपत्रमा यसको उल्लेख भएकाले यो पार्टी त्यो भन्दा पहिले स्थापना भएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताउनुभयो । विसं १८७९ मा साविक रामपुर गाविस–८ का समाजसेवी तुलसीराम रेग्मीले गुठी निर्माण गर्नुभएको भन्ने पाकापुस्ताले सुनेको बताउनुहुन्छ तर यो यतिबेला नै स्थापना भएको भन्ने छैन । तत्कालीन समयमा रामपुर क्षेत्रमा भित्रिने विशिष्ट व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रुपमा गुठी निर्माण गरिएको हो ।
गैडाकोट हुदै मुस्ताङ जोड्ने कालीगण्डकी करिडोरको रामपुर ४ खोप्टारमा सडकखण्डको उत्तर आडमा धर्मशाला रहेकोले पनि बाटो हिड्ने जोकोहीको ध्यान यसले तानेको छ । उचित संरक्षणको अभावमा जिर्ण बनेकोमा धर्मशाला २०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो । त्यसको पौराणिक अस्तित्व बचाइ राख्न स्थानीय लागेपछि पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो । बिशेष गरि तत्कालिन समयमा सामान लिन बटौली र वालिङ पुग्ने पाल्पा, स्याङजा, तनहु, गोरखा, लमजुङ, नवलपरासी लगायतका जिल्लाका बटुवा जादा आउदा भारी बिसाउने पकाउने, खाने, बास बस्ने धर्मशालाको रुपमा यो पार्टी रहेको स्थानीय बुद्धिजिवीको भनाई छ ।
भुइँतलासहित तीनतले ६ कोठा र दायाँबायाँ बालापालीको धर्मशाला झिँगटीको थियो । झिँगटी लामो समय नटिक्ने पुरातत्व विभागको सल्लाह अनुसार जस्तापाताले छाइएको छ । धर्मशलाको सुरकी इट्टा भक्तपुरे प्रयोग गरिएको छ । ईट्टा, ढुङा, काठ, टिनको प्रयोग गरिएको छ । काठमाडौं सहित देशका बिभिन्न स्थानमा बर्षाै काठका काम गरेका कामदारबाट कलात्मक बट्टा भरिएको छ । काठमा चन्द्रमा, सूर्य आकारका बुट्टा छन् । यसले चट्याङ नपर्ने कुनै अप्रिय घटना नहुने किम्बदन्ती रहेको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुभयो ।
‘सङ्ग्रहालयका रुपमा स्थापित गर्न नगर सरकारले पनि साथ दिएको रेग्मीले बताउनुभयो । संग्रहालयको रुपमा विकास गर्न सकिने संरचना पनि तयार भएको छ गाउँघरमा पहिले प्रयोगमा आएका पुराना सामग्री संग्रहालयको रुपमा राखिने उहाँले बताउनुभयो । केही हामीसँग छन् स्थानीय सँग सङ्कलन गरेर थालनी गर्छाै उहाँले भन्नुभयो । हेर्न र फोटो खिच्न आउनेको संख्या बढ्यो,सरसफाईमा लगाउने गरि सानो शुल्क लिएर धर्मशालालाई अबलोकन गर्ने थलोको रुपमा विकास गर्ने सोच समितिको रहेको रेग्मीको भनाई छ ।
पहिले रेग्मी समुदायको वामित्वमा रहेकोमा अहिले समुदायलाई हस्तान्तरण भएर विविध गतिबिधि सञ्चालन भएका छन् । धर्मशालालाई सङ्ग्रहालयका रुपमा विकास गर्ने गरी सरोकारवाला बीचको छलफलबाट टुङयाउने रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । धर्मशाला तथा संग्रहालयको नियमित रेखदेख, प्रयोग र सञ्चालन तोकिएपछि रामपुरको पर्यापर्यटनलाई जोड्ने गरि यसको विकास हुने थापाको भनाई छ ।
धर्मशाला १ रोपनी क्षेत्रफलमा फैलिएको छ । यहीँ पार्टी भवनमा स्रोत साधनको उपयोग, तुलसीरामको सहयोगमा विसं २०२५ मा अहिलेको रामतुलसीको कक्षा सञ्चालन भएको भन्ने छ । यसैबेलादेखि रामतुलसी नाम रहन गएको हो । धर्मशालासँगै यस आसपासमा लक्ष्मीनारायण गुठीको नाममा झण्डै १० रोपनी जग्गा छ । गुठीमा पहिले टाढाका बटुवा तथा तीर्थयात्री दैनिक ३०देखि ५० जनासम्म बाँस बस्ने गरेको यहाँका स्थानीयवासीको भनाई छ ।
गाउँघरमा शहरीकरण र बाक्लो बदलिदो आधुनिकताले पछिल्ला समय पुराना धार्मिक सम्पदा मासिने क्रम बढ्दो छ । आधुनिक संरचनाका भवन धमाधम बन्दैछन् । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुने हो भने पुरै लोप हुने स्थितिमा छ ।