पुर्जा लिन पुषको चिसोमा खुला आकाशमुनि हौसिदै नागरिक
पाल्पा ।
जग्गा किनेको ५० औं बर्षपछि पुर्जा पाइने भनेपछि जग्गा धनी लालपुर्जा लिन पाल्पा रामपुरका निबेदक पुषको कठ्याङग्रिदो चिसोमा बसिरहे ।
चिसोमा खुल्ला आकाशमुनि बसेका नागरिक कुन बेला पुर्जा पाइने हो? भन्ने कौतुहलतामा सबेरैदेखि राष्ट्रिय भुमी आयोग रामपुरको प्राङ्गणमा बसिरहेका थिए । रामपुर नगरपालिकाका बिभिन्न वडाका बर्षौदेखिको पुर्जा लिने सपना बुनेका ती नागरिक शुक्रवार पुर्जा पाइने भनेपछि राष्ट्रिय भुमि आयोग रामपुरको कार्यालय र नगरपालिका कार्यालय परिषरमा दिनभर पर्खिरहे ।

रामपुर नगरपालिकामा बसोबास गर्ने र हाल विभिन्न ठाउमा पेशा व्यबसाय र बसाई गर्ने तर नगरमा जग्गा भएका टाढाबाट आएका निबेदक नागरिक घण्टौ पुर्जाको लागि चौरमा बसेपनि कुनै झिजो नमानी पुर्जा हातमा पर्ने कौतुहलतामा बसेका देखिन्थे ।
पहिलोपटक रामपुरमा बितरण गर्न थालिएको पुर्जा हस्तान्तरणमा राष्ट्रिय भुमी आयोगका केन्द्रिय अध्यक्ष केशब निरौलाको पर्खाइमा बसेका थिए ती नागरिक । कतिपयलाई त आफू किन बसिरहेको छु भन्ने पनि हेक्का भएन । पुर्जाको पर्खाइमा चौरमा घाम तापेर दिन बिताइरहेका जेष्ट नागरिक तारा बहादुर सिंहले पुर्जा बाड्ने मान्छे नआएर आफुहरु बस्न परेको बताउनुभयो ।
दिउँसो १ बजेलाई कार्यक्रम तय गरिएको थियो । पुर्जा पाउने आशा बोकेर बिहानै आएका नागरिकका माझ केन्द्रिय अध्यक्ष निरौला साझ ५ बजे आइपुग्नुभयो । अध्यक्ष निरौला रफ्तारमा कार्यक्रमको मञ्च नजिक ल्याइएको गाडीबाट ओर्लिनुभयो । यत्तिकैमा सहभागी अब पक्कै पुर्जा पाइन्छ भन्नेमा हौसिन थाले ।
तालीले स्वागत गर्दै अबेर शुरु भएको कार्यक्रमलाई आयोजकले तन्काउदै लैजादा चिसो सिरेटोले हानेका नागरिक चुइक्क चलेनन् । दिनभरी घाम तापेर चौरमा दिन बिताएका नागरिक साझपख नजिककम हुनेहरु न्यानो कपडाको जोहो गरि आए भने केही नागरिक चिसो भएपनि पुर्जा प्रमाणपत्र सम्झेर चिसोलाई धकेल्दै बसेका थिए । अबेर भएपनि धैर्यतापुर्वक दर्जन बढीको भाषण सुनेका पुर्जा पाउने नागरिकले अन्तत: प्रमुख अतिथि निरौलाको भाषणपछि जग्गाधनी प्रमाणपत्रको पुर्जा लाइनबद्व पाए ।

साझ ७ बजे पुर्जा हातमा पर्दा दु:ख पनि बिर्सिएको भिमबिश्व भट्टराई र देवका भट्टराई दम्पतिले बताउनुभयो । एकल हुनेको आफ्नो नाममा पुर्जा र भट्टराई दम्पति जस्तै दम्पति हुनेको दुबैको नाममा बनेको जग्गा धनी पुर्जा लिन प्रायः दम्पती नै सहभागी भएका थिए ।
रामपुरको मुख्य बेझाड बजार सहित मुख्य बजारका क्षेत्र प्रायः पुर्जा बिहिन अव्यवस्थित जग्गा हो । यही जग्गा सहित पहिलोचरणमा ३ सय ७७ वटा जग्गाको सबै काम सकेर पुर्जा बितरण थालिएको हो । मालपोतको २० प्रतिशत हुन आउने रकम बैंक दाखिला गरि भौचर बुझाएर पुर्जामा नाम दर्ता गरेकोले जग्गाधनी पुर्जा पाउछन् ।
शुक्रवार अबेर १०३ जनालाई कार्यक्रममा एकैसाथ पुर्जा दिइएको हो । कार्यालयले शनिबार समेत ५९ जनालाई पुर्जा बितरण गरेको आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरेले बताउनुभयो ।
कुल ७८३ प्रक्रियामा गएको मध्य अब दोस्रो चरणमा २ सय ८६ घडेरीको अन्तिम सुचना प्रकाशन गरि बैंक राजश्व दाखिला पश्चात् पुर्जा दिन थाल्ने र अन्य १ सय २० घडेरीको बाकी स्थलगत प्राबिधिक काम गर्ने गैरेले बताउनुभयो ।
पाल्पाका अन्य पालिकामा समेत अब अव्यवस्थित तथा सुकुम्बासी, भुमिहिन दलित जग्गा व्यबस्थापनका कामलाई तिब्रता दिने उहाँको भनाई छ ।






