प्रत्यक्षतर्फ महिलाको सिट घट्दा बन्दसूचीका पहिलो पुरुष नै संसदमा रोकिन सक्ने
काठमाडौं ।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक्षतर्फ थोरै महिला आउदा सीमान्तकृत पुरुष समेत अवसरबाट बञ्चित हुनसक्ने सम्भावना बढेको छ । दल र स्वतन्त्र गरी २२५ जनाले उम्मेदवारी दिएपनि थोरै मात्रै महिला निर्वाचित भएपछि समानुपातिक बन्दसूचिमा परेका पुरुष उम्मेदवारहरु संसदमा आउने सम्भावना कम हुदै गएको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटका लागि २ हजार ४ सय १२ उम्मेदवारमध्ये २ सय २५ जना मात्र महिला थिए, तीमध्ये एमालेबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, नेपाली कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टीबाट १–१ महिला मात्र निर्वाचित भएका छन । एमालेबाट धनुषा–३ मा जुलीकुमारी महतो, बारा–३ मा ज्वालाकुमारी साह र कास्की–२ मा विद्या भट्टराई निर्वाचित हुनुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ मा सोविता गौतम र ललितपुर–३ मा तोसिमा कार्की निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले कैलाली–१ बाट जित्नुभएको छ ।
यो सँगै अहिले सम्म सबै दलबाट ८ जना मात्रै निवर्चचित हुनुभएको छ भने सुनसरी ३ बाट भगवति चौधरीले अग्रता लिनुभएको छ । उहाँले जीत निकाल्नुभयो भने संसदमा प्रत्यक्ष तर्फ महिला सांसदको प्रतिनिधित्व ९ जना पुग्ने देखिएको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा उम्मेदवार रहेका १४ महिलामध्ये १२ जना पराजित भइसकेका छन । माओवादीकी रेखा शर्माले दाङ–२ बाट चुनाव जित्नुभयो भने कांग्रेसकी सीता गुरुङ तेह्रथुमबाट निर्वाचित हुनुभएको छ ।
एमालेकी भगवती चौधरी सुनसरी–३ मा अग्रस्थानमा हुनुहुन्छ । एमाले सचिव पद्मा अर्याल उम्मेदवार रहेको स्याङ्जा–२ मा भने मतगणना भएको छैन । संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने व्यवस्था गरेको छ । तर दलहरुले निर्वाचनमा टिकट नदिदा महिलाको प्रतिनिधित्व घटेको भएपनि त्यसलाई समानुपातिक प्रणालीबाट पूर्ति गर्ने नेताहरुले बताएका छन् । ५१ स्थान जितेर ६ स्थानमा अग्रता कायम राखेको नेपाली कांग्रेसले प्रत्यक्ष सांसदमा एक जनामात्रै महिला पाएको छ । उक्त पाटीले टिकट दिएका अन्य चार महिला पराजय भैसकेकना छन् ।
तेह्रथुमबाट सीता गुरुङ निर्वाचित हुँदा अरु चार महिला उम्मेदवार पराजित भएका हुन । मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय (डिना), अर्घाखाँचीमा पूर्वउपसभामुख पुष्पा भुसाल र मोरङ–२ मा पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र सिरहा–२ मा पूर्वकोषाध्यक्ष चित्रलेखा यादव पराजित भएका हुन । त्यस्तै नेकपा एमालेले १४१ सिटमा उम्मेदवारी दिँदा ११ महिलालाई उठाएको थियो । एमालेबाट उम्मेदवारी दिएका कञ्चनपुर–३ मा नीरुदेवी पाल, बागलुङ–२ मञ्जु शर्मा, दाङ–१ शान्ता चौधरी, दाङ–३ कोमल वली र डोटीमा गौरीकुमारी ओलीले पराजित भैसकेका हुन ।
उता नेकपा माओवादी केन्द्रले ४६ सिटमा उम्मेदवारी दिँदा महिला ७ जना उठाएको थियो । उक्त पार्टीबाट रेखा शर्माले मात्रै चुनाव जित्नुभयो भने अरु ६ जना पराजित भए । शर्माले दाङ–२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले हराउनुभयो । काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्ती, ललितपुर–३ मा हाल ऊर्जामन्त्रीसमेत रहेकी पम्फा भुसाल, काठमाडौं–१० मा अञ्जना विशंखे, काठमाडौं–७ मा मानुषी यमी भट्टराई, काठमाडौं–९ मा कल्पना धमला, जुम्लामा गोमा गौतम र कञ्चनपुर–१ बिना मगर पराजित भए ।
त्यस्तै, गुल्मी–२ मा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्री पराजित हुनुभयो । सत्ता गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि प्यूठानमा पराजित हुनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३१ क्षेत्रमा उम्मेदवारी दिएकामध्ये १२ महिला थिए । ७ सिट जित्दा काठमाडौं–२ बाट सोविता गौतम र ललितपुर–३ बाट तोसिमा कार्की निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा ७ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कोही पनि महिलाले आएनन । जनता समाजवादी पार्टीले सात जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएकोमा कसैले पनि चुनाव जित्न सकेनन भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाली–१ बाट जित्नुभएको छ ।
दलहरुले टिकट दिएका अधिकांश क्षेत्रहरुमा महिला नेताहरुले प्रतिष्पर्धी पुरुष उम्मेदवा्सँग भिड्नुपर्दा हार वेहोर्नु परेको हो । दलको तर्फबाट प्रत्यक्ष निर्वाचनका लगि टिकट पाउनै मुस्कील परेको र टिकट लिएर निर्वाचन क्षेत्रमा गइसकेकपछि समेत समाजले अझै महिलालाई नेतृव तहमा पुर्याउनुपर्छ भनेर स्वीकार गरिनसकेको अवस्था देखिएके नेपाली कांग्रेसकी केन्द्रिय सदस्य प्रतिमा गौतमले बताउनुभयो । पार्टी भित्रै पनि महिलालाई चुनाव जिताउदा उनीहरु हरेक निर्णय प्रकृयामा शशक्त हुन्छन भन्ने डरले पुरुष नेताहरुले महिलालाई खुलेर सहयोग नगर्ने गरेको उहाँको भनाइ छ । ‘पहिला त महिलालई टिकटनै दिइदैन’, गौतमले भन्नुभयो, ‘टिकट दिइसकेपछि पनि चुनाव जिताउन पार्टीकै जिम्मेवार साथिहरुले महिलालाई खुलेर सहयोग गर्न नसकेको अवस्था देखिएको छ ।
यसलाई हामीले समाजमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइनसकेको र सहज रुपमा महिलाको नेतृत्व स्वीकार नगरेको अवस्थाका रुपमा हेर्न सकिन्छ ।’ बल्ल तल्ल टिकट पाएका महिला नेताहरुले पार्टीभित्रै आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा पनि हार्नुपरेको छ । मकवानपुरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसकी नेता महालक्षी उपाध्याय (डिना) ले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा हार्नुपरेको छ । त्यहा चुनावी परिणामपछि कांग्रेसभित्रै दुइ समुहमा विभाजित भएर पत्रकार सम्मेलन गर्न थालेका छन् ।
पत्रकार सम्मेलन गर्दै अन्तरघात भएकाले त्यसको गम्भीर समिक्षा हुने पार्टी सहमहामन्त्री समेत रहनुभएकी उम्मेदवार उपाध्यायले प्रतिकृया दिनुभएको छ । समग्रमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ कम महिला निर्वाचित हुँदा एकातिर संसद्मा महिला प्रतिनिधित्व विगतभन्दा पनि कमजोर हुने भएको छ भने अर्कोतिर समानुपातिकतर्फ सीमान्तकृत समुदायका पुरुषले समेत अवसर नपाउने सम्भावना बढेको छ ।
विद्यमान संबैधानीक व्यवस्था र भर्खरै आएकोे निर्वाचन परिणामले समानुपातिक बन्द सूचिमा १ नम्बरमा परेका पुरुषहरुलाई समेत संसदमा जाने बाट छेक्न सक्ने आँकलन गरिएको छ । यसले संसदमा अन्य समूदायको समानुपातिक प्रतिनिधित्वमा समेत नहुने सम्भावना बढेको संविधानविदहरु बताउँछन् ।