पाल्पा १ मा कस्को होला इन्ट्री
पाल्पा ।
पाल्पा १ को यसपटकको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सबै उमेदवार नयाँ छन् । पार्टीका जिल्ला तहका नेताहरु भएपनि प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पहिलोपटक टिकट पाएका नेताहरु चुनाबी मैदानमा होमिएका छन् ।
यसले गर्दा पाल्पा १ को सांसदमा कस्को इन्ट्री हुन्छ भन्ने चासो क्षेत्र सहित जिल्लाभर छ । पाल्पा १ को प्रतिनिधि सभामा राजनीतिक दल सहित स्वतन्त्र गरि १० जनाको उम्मेद्बारी परेको छ । यहाँ बिगतको निर्वाचन र चुनाबी अबस्थालाई हेर्दा गठबन्धनबाट उम्मेदवार भएका नेपाली काङ्ग्रेसका उमेदवार र नेकपा एमालेका उम्मेदवार बिच नै प्रतिस्पर्धा देखिन्छ ।
हाल मुख्य प्रतिस्पर्धी राजनितिक दलबाट निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उमेदवार र प्रदेश सभाका उमेदवार सबैजना पहिलोपटक सभा सदस्यमा प्रतिस्पर्धा गरिरहेका छन् ।
त्यसो त प्रतिनिधि सभामा सानादलबाट राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिंह दर्लामी पहिलो संविधान सभाको निर्वाचन २०६४ सालमा समेत प्रतिनिधि सभाका उमेद्धार थिए भने अन्य साना दलले पनि अहिले सबै नयाँ अनुहार उठाएको छ ।
पाल्पा १ को (१) प्रदेश सभामा सबैजना पहिलोपटक चुनाबी प्रतिस्पर्धामा छन् । भने पाल्पा १ को (२) मा मंगोल नेशनल अर्गनाइजेशनका प्रदेश सभा उमेद्धार लाल बहादुर दर्लामी गत २०७४ सालको प्रदेश सभा निर्वाचनमा यसै ठाउँबाट उठेका थिए । मंगोल नेशनल अर्गनाइजेसनका दर्लामी बाहेक प्रदेश सभा निर्वाचनमा पनि ठुला राजनितिक दलदेखि अन्य साना दलबाट पाल्पा १ (२)मा सबै नयाँ अनुहारलाई उठाएको छ । त्यसैले पाल्पा १ को प्रतिनिधि तथा प्रदेश सभाको नेतृत्वमा नयाँ अनुहार मध्य कस्को प्रबेश हुन्छ भन्ने कौतहलता आम पुर्वी पाल्पाली मतदाता र पाल्पाली जनतामा छ ।
पाल्पा १ को प्रतिनिधि सभामा गठबन्धनका तर्फबाटबाट ज्ञान बहादुर गाहा उमेदवार छन् । नेपाली काग्रेंसका नेता महाधिबेशन प्रतिनिधि तथा जिल्ला उपसभापति समेत रहेका गाहा मगर समुदायका बलियो उमेदवार हुन् । पुर्वी पाल्पामा मगर समुदायको बाहुल्यता छ । गाहाको प्रतिस्पर्धामा नेकपा एमालेबाट प्रदेश सभा सदस्य रहेका नारायण प्रसाद आचार्य उमेदवार छन् । उनी पाल्पा १(२) का प्रदेश सभा सदस्य हुन् ।
पाल्पा १ मा गठबन्धनबाट नेपाली काङ्ग्रेसका उमेदवार छन् । जस अन्तर्गत पाल्पा १ (१)मा नेपाली काग्रेंसले श्यामकान्त खनाललाई प्रदेश सभामा उमेद्धार बनाएको छ । रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष रहेका खनाल २८ बर्ष नेपालको निजामति सेवामा रहेर योजना र विकासलाई नजिकबाट काम गरेका र बुझेका उमेदवार हुन् । नेकपा एमालेले पाल्पा १(१) मा राजु प्रसाद श्रेष्ठलाई उठाएको छ । श्रेष्ठ रामपुर क्षेत्रका सामाजिक संघसस्थामा आबद्ध छन् । उद्योग वाणिज्य संघदेखि निजि बोडिङ, रोटरी लगायत संघसंस्थाका सस्थापक भएर काम गर्दै आएका छन् ।
पाल्पा २(२) मा नेपाली काग्रेंसले युवा व्यवसायी शंकर खनाललाई उमेद्धार बनाएको छ । पार्टी राजनितिमा लामो समय काम गर्दै आएका खनाल सामाजिक सेवामा सक्रिय छन् । नेकपा एमालेका खेम बहादुर सारु शैक्षिक क्षेत्रमा काम गरेका उमेदवार हुन् । निजि शैक्षिक संस्थाको जिल्ला अध्यक्ष रहेर काम गरेका छन् ।
प्रतिनिधि सभामा मुख्य दलका दुई उमेदवार संगै पाल्पा १ बाट राजनितिक दल र स्वतन्त्र गरि १० उमेद्धार छन् । जसमा राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामी सहित मंगोल नेशनल अर्गनाईजेशनका थमन बढा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान बहादुर सिंजाली, जनता समाजवादी पार्टीका मेहरमान राना उमेद्धार छन् । नयाँ रहेका ४ स्वतन्त्र उमेद्धारमा विपिन कडेंल युवा उद्यमी तथा इन्जिनियर हुन् । स्वतन्त्र उमेद्धार नारायण न्यौपाने युवा व्यवसायी हुन् । अर्का राजु सुनार र डोलराज तिमिल्सिना स्थानीय युवा हुन् ।
प्रदेश सभा उमेद्धारमा मुख्य दुई सहित राजनितिक दलबाट मात्र उमेद्धार छन् । प्रदेश सभामा स्वतन्त्र उमेद्धार छैनन् । पाल्पा१ (१) मा सबै नयाँ उमेदवारमा मंगोल अर्गनाइजेशनका पुर्ण बहादुर रुचाल, राप्रपाका डुल बहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका भिमसेन सुनारी मगर छन् ।
पाल्पा १ (२) मा मुख्य प्रतिस्पर्धी दल गठबन्धन र नेकपा एमालेका दुई उमेदवार सहित मंगोल नेशनल अर्गनाइजेशनका दर्लामी सहित राप्रपाबाट लक्ष्मण पंगेनी र राष्ट्रिय जनमुक्ति पार्टीबाट टेक बहादुर राना प्रदेश सभा उमेद्धार छन् ।
२ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाल्पा १ मा प्रतिनिधि सभामा कुल १० र सोही क्षेत्र अन्तर्गत प्रदेश सभा १ र २मा ५/५ गरि १० उमेद्वार चुनावी प्रचारप्रसारमा छन् ।
पाल्पा २ को प्रतिनिधि सभामा एकीकृत नेकपा समाजबादीका सोम प्रसाद पाण्डे, प्रदेश १ मा नेपाली काङ्ग्रेसका वीर बहादुर राना, २ मा नेकपा माओबादीका तुलाराम घर्ती (वसन्त) उमेदवार छन् भने नेकपा एमालेबाट प्रतिनिधि सभामा ठाकुर गैरे, प्रदेश सभा १ मा परशुराम भट्टराई र २ मा ओम बहादुर घर्ती उमेदवार छन् ।
निर्वाचन आयोगले आचारसंहिता भित्रै रहेर कार्तिक १७ देखि प्रचारप्रसार गर्न समय दिएकाले पाल्पाका प्रतिनिधि र प्रदेश सभाका उमेदवार सहित नेता कार्यकर्ताले चुनाबी प्रचारलाई घरदैलो र सभामा केन्द्रित गरेका छन् ।