खेलमै भविष्य खोज्दै पाल्पाका फुटबल खेलाडी सन्दिप श्रेष्ठ
पाल्पा ।
आफुले जानेदेखि फुटवल खेल खेल्दै आएका पाल्पा सराईका सन्दीप श्रेष्ठ खेलमै भविष्य खोज्दैछ्न्। घर पछाडी चौर भएकोले आफुले जान्दा नजान्दै देखि फुटवल खेल्न शुरु गरेको बताउने श्रेष्ठ खेल खेलाडीको जीवन र भविष्य भए खेलले फड्को मार्ने बताए ।
२० बर्षे युवा सन्दिप अहिलेसम्म क्लबबाट फुटवल खेल्न दर्जनौं पटक देशका विभिन्न स्थानमा पुगेका छन् । सराई क्लबको फुटवलका टिम क्याप्टेन रहेका उनी भर्खर कक्षा १२ को पढाइ सके । खेलकुद प्रतियोगिता हुँदा उनी कयौं पटक कक्षा छाडेर खेल्न गएका छन् । कपडा र प्लास्टिकका फुटबल बनाएर खेल्दै जादा फुटवल खेल्नमा उत्साहित भए । स्थानीय स्तर देखि देशका ठूला शहरमा भएका प्रतिस्पर्धामा उनी खेल्न पुगेका छन् ।
क्लबका राम्रो खेलाडीको रुपमा निस्केका उनी अहिलेसम्म काठमाडौँ, मोरङ, धनगढी, बिराटनगर बुटवललगायतका विभिन्न ठाउँमा प्रतिस्पर्धा गर्न गरेका छन् ।
माथागढी गाउँपालिका ३ सराईका उनलाई अहिले फुटबल खेल नशाजस्तै बनेको छ । यसमै उनी ठूलो सपना बोकेर विभिन्न ठाउँमा प्रतिस्पर्धा गर्न पुग्छन् । फुटबल खेल भनेपछि उनी सबै काम छाडेर प्रतिस्पर्धा गर्न जाने गरेको बताए । खेल आयोजक क्लब र आफ्नै क्लबले खेल्न जादा व्यबस्थापन गर्छ, अरु त नेपालमा खासै केही भएको छैन, सरकारले खेलमा उत्साहित गराउन केही पहल गरे हुन्थ्यो सन्दिपले भने ।
‘खेलकुदको क्षेत्रमा राम्रो खेलाडी बनेर चिनिने धोको छ तर राष्ट्रिय स्तरमा नाम कमाएकै केही चर्चित खेलाडी विदेश गएको, घरायसी काम खेतीपातीमा फर्किएको सुन्दा यस्तै छ भन्ने लाग्छ, उनले थपे ‘राज्यले खेलकुदमा लगानी गरेर खेलाडीलाई स्वदेशमै बाँच्ने वातावरण सिर्जना गर्नुपर्छ ।’ खेलकुदमा रुचि राख्ने युवालाई सानैदेखि नै खेल्ने वातावरण राष्ट्रिय र स्थानीय सरकारले मिलाइदिएमा धेरै खेलाडी उत्पादन हुने श्रेष्ठ बताउँछन् । उनले अहिलेसम्म खेलमा प्रतिस्पर्धा गर्न जाँदा सम्बन्धित क्लबले नै खर्च बेहोर्ने गरे पनि पर्याप्त आर्थिक रकम नहुँदा खेलाडीलाई अप्ठ्यारो पर्ने गरेको बताए । उदीयमान खेलाडीलाई राज्यले संरक्षण गर्दै व्यावसायिक रूपमा खेल्ने आधार खडा गर्न उनको माग छ ।
सराईकै कमलबहादुर आले उमेरले २० वर्ष भए । तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत उनले अध्ययनको समयबाहेक अन्य समय खेलमै खर्चंदै आएका छन् ।
प्रतियोगितात्मक कार्यक्रम नपरेका बेला खेलसम्बन्धी जानकारी लिने, आफ्नो क्षमतालाई विकास गर्नेतर्फ उनको ध्यान तानिएको हुन्छ । उनी बुटवल, भैरहवा क्षेत्रमा प्रतिस्पर्धा गर्न पुगेका छन् । घर नजिकै रहेको खेलमैदानमा आफूभन्दा माथिल्लो उमेर समूहका व्यक्ति खेल्ने गरेको देखेपछि आफूले पनि सिक्दै खेल क्षेत्रमा अगाडि बढेको उनी बताउँछन् । खेलकुदका विधाअन्तर्गत उनी फुटबल खेलमा राम्रो खेलाडीले चिनिन्छन् । समय समयमा प्रतियोगितात्मक कार्यक्रम आयोजना भएमा धेरै खेलाडी उत्पादन हुने वातावरण सिर्जना हुने र खेलमा युवालाई हौसला बढ्ने उनी बताउँछन् ।
सराई युवा क्लबका आशिष राना राम्रो खेलाडी हुन् । उनले खेलमा धेरै गोल गरेका छन् । हाम्रा खेलाडी राम्रो खेल्छन्, बाहिरका खेलाडीसम्म पनि भिड्न सक्छन् तर केही व्यबस्थापन मात्र मिलाउने भए राम्रो उपलब्धी लिन सकिन्छ रानाले भने ।
‘खेलकुदका कार्यक्रम अति न्यून छन्, खेल्ने रहर गरेर मात्रै भएन, पूर्वाधार तयार छैनन्, राम्रो खेलाडीलाई यसैबाट जीवन धान्ने आधार बन्न सकेको छैन, खेल खेलेर बाँच्ने आधार भयो भने अन्तर्राष्ट्रिय रूपमा नै खेल्न सक्ने खेलाडी स्थानीय स्तरमा नै छन्,’ उनले भने ।
स्वास्थ्यका लागि खेल अपरिहार्य छ । खेलकै माध्यमबाट राष्ट्रलाई विश्वसामु चिनाउन सकिन्छ । खेल खेल्ने वातावरण तल्लो तहदेखि नै राष्ट्रिय स्तरसम्म सिर्जना भएमा धेरै खेलाडी जन्मनेछन् । खेलमा भविष्य खोजेका युवालाई राम्रो आधार खडा गर्नुपर्छ । खेलले बालबालिका, युवायुवती, ज्येष्ठ नागरिक सबै उमेर समूहलाई आकर्षित बनाएको हुन्छ । स्थानीय स्तरमा हुने विभिन्न खुल्ला स्तरीय खेलकुदका कार्यक्रममा अवलोकन गर्न पुग्ने गरेको युवा प्रदीप पाण्डेय बताउँछन् ।
‘खेलाडीलाई दर्शकको राम्रो सहयोग र साथ भएमा खेल क्षेत्रमा उनीहरूको उत्साह थपिने, जोश, जाँगर बढ्नेछ, खेल एउटा नशा र मनोरञ्जनको साधन बनेको छ, जहाँ हेर्दा दर्शकलाई एक किसिमको आनन्दको अनुभूति दिलाउँछ,’ उनले भने ।
प्रतिस्पर्धा गर्न आर्थिक समस्याले राम्रा र सक्षम खेलाडी पछाडि परिरहेका छन् । खेलाडी आफैँले रकम उठाएर अन्यत्र प्रतिस्पर्धा गर्न जानुपर्दा समस्या हुने गरेको उनीहरूको गुनासो छ । सम्बन्धित स्थानीय सरकारले खेल क्षेत्रमा चासो दिएर खेलाडीको मनोबल वृद्धि हुने खालका कार्यक्रममा ल्याउनुपर्ने खेलाडीको माग छ ।
खेलाडीको सम्मान र उनीहरूको मनोबल वृद्धि गराउन स्थानीय स्तरमा हुने गरेका प्रतियोगितात्मक कार्यक्रमले खेल खेल्न र केटाकेटी, युवा, वृद्ध सबै पुस्तामा खेल हेर्नुपर्छ भन्ने धारणा बसालेको सिर्जनशील युवा क्लबका निवर्तमान अध्यक्ष ओमप्रकाश रेग्मीले बताए ।