सहलकोट युवा सञ्जालद्धारा भलिबल संगै कलाकार सहितको सांस्कृतिक कार्यक्रम गर्ने
पाल्पा ।
सहलकोट युवा सञ्जाल निस्दी २ सहलकोटको आयोजनामा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सहित विविध सांस्कृतिक मेला हुने भएको छ ।
सञ्जालले पाल्पाको रामपुरमा आइतबार पत्रकार सम्मेलन गरि संस्थागत रुपमा सक्रिय बन्दै गएको सञ्जालले आगामी कार्तिक २२ गतेदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम संयोजक प्रेम बहादुर बाकाबलले जानकारी दिनुभयो ।
‘‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने नारा सहित वडा स्तरीय खुला पुरुष प्रतियोगिता, राष्ट्रिय कलाकारको साथमा सांस्कृतिक मेला र झाँकी प्रद्र्धशन गरिने आयोजकले जनाएको छ । पुरुष भलिबल प्रतियोगितामा प्रथम समूहले नगद ४५ हजार ट्रफी, मेडल र प्रमाणपत्र, द्धितियले नगद ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय समूहले १५ हजार रुपँया ट्रफी, मेडल र सान्वनाले नगद ७ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक जगत थापाले बताउनुभयो ।

सहलकोट लिन्दी खेलमैदानमा हुने प्रतियोगिताको अन्तिम दिन कार्तिक २६ गते शनिवार राष्ट्रिय लोकदोहोरी गायक बद्री पंगेनी, लोकदोहोरी गायक हुम गैरे, लोकदोहोरी गायिका धनमाया दिसुवा मगर, दिपिका बयम्बु, गायक खेम शाही ठकुरी र गुप्त गैरे लगायतका कलाकारहरुको प्रस्तुति सहित स्थानीय झाँकीमा पंचेबाजा र कौरानाच प्रस्तुत गरिने सास्कृतिक कार्यक्रम संयोजक सुनिल कानुङले जानकारी दिनुभयो।
भलिवल प्रतियोगिता तथा सांस्कृतिक मेलाका लागि विभिन्न तयारी उपसमिति गठन गरि तयारी पुरा भएको जनाएको छ । मेलालाई व्यवस्थित गर्न खेल व्यवस्थापन उपसमिति, स्वयंमसेवक परिचालन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, सांस्कृतिक उपसमिति, अतिथि सत्कार उपसमिति र सल्लाहकार समिति गठन गरिएको हो ।
खेललाई व्यवसायिक र सामाजिक कार्यमा युवालाई उत्साहित बनाउन आयोजना गरिएको प्रतियोगितामा झण्डै ७/८ टिमको सहभागिता रहने र झण्डै ५ लाख खर्चको अनुमान गरिएको युवा सञ्जालले जनाएको छ ।
पत्रकार सम्मेलनको सञ्चालन क्लबका गणेश दर्लामीले गर्नुभएको हो ।