बझाङका ५६ मतदान स्थल अति संवेदनशिल
बझाङ ।
मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बझाङ जिल्लामा ५६ मतदान स्थल अति संवेदनशिल रहेको छ ।
जिल्ला सुरक्षा समितिले गरेको अनुगमन र बिगतको निर्वाचनको अवस्थालाई मुल्यांकन गरेर समितिले जिल्लाका मतदान स्थललाई अति संवेदनशिल, संवेदनशिल र सामान्य स्थल गरि ३ प्रकारको सुचीमा राखेको छ ।
चुनावका लागि जिल्ला सुरक्षा समितिले मतदान स्थलको वर्गीकरण गर्दै ५६ अति संवेदनशिल, ५८ मतदान स्थल संवेदनशिल र २१ मतदान स्थल सामान्य रहेको बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।
जिल्लाको भौगोलिक विकटता, मतदाताको अवस्था र मतदान केन्द्रको दुरी, सुरक्षा केन्द्रसम्मको पहुँच र बिगतको निर्वाचन गतिबिधिलाई ध्यानमा राखेर मतदान स्थलको वर्गीकरण गरिएको प्रजिअ अर्यालले बताउनुभयो ।
२ नगरपालिका र १० गाउँपालिका गरि १२ स्थानीय तह रहेको बझाङमा १ लाख २२ हजार ३ सय ७३ मतदाता रहेका छन् । जहाँ ६१ हजार ६ सय ८२ पुरुष र ६० हजार ६ सय ९४ जना महिला मतदाता रहेका छन् ।
निर्वाचनका लागि बझाङमा कुल १३५ मतदान स्थल र १८५ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन नजिकिदै जादा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला निर्वाचन अनुगमन समिति तथा सुरक्षा समितिले जिल्लाका निर्वाचन स्थलको अनुगमन तथा अबलोकन गरेको छ । टोलीले जिल्लाको १० पालिका पुगेर मतदान स्थलको अनुगमन गरेको छ ।
जिल्लाको माथिल्लो भेगमा पर्ने साईपाल गाउँपालिकामा अझसम्म गाडी पुग्न सकेको छैन ।