आगामी निर्वाचनका लागि पाल्पामा २ लाख बढी मतदाता
पाल्पा ।
आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पाल्पामा २ लाख १ हजार ३ सय २६ जना मतदाता रहेका छन् ।
वि.स.२०७९ साल मंसिर ३ गतेसम्ममा १८ बर्ष उमेर पुग्ने निर्वाचन आयोगले निकालेको मतदाता नामावलीमा नाम भएका पाल्पाका मतदाता यी हुन् । जसमध्ये जिल्लामा १ लाख ३ हजार १ सय १८ जना महिला र ९८ हजार २ सय ८ जना पुरुष मतदाता छन् । २ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा ११८ मतदान स्थल २४६ वटा मतदान केन्द्र रहेका छन् ।
प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ मा ९६ हजार ३३ जना मतदाता छन् जहाँँ ५२ वटा मतदान स्थल र ११५ वटा मतदान केन्द्र रहेको छ । त्यस्तै प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ मा १ लाख ५ हजार २ सय ९३ जना मतदाता छन् भने यहाँ ६६ वटा मतदान स्थल र १३१ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकृत रुक्मागत अर्यालले जानकारी दिनुभयो ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाल्पा जिल्लामा १ लाख ९९ हजार ६ सय ९० जना मतदाता रहेका थिए । त्यसयता गत असार १ गतेदेखि साउन १९ गतेसम्म जिल्लाका २ स्थानमा फोटो सहितको मतदाता नामावली संकलन गरेको थियो । जिल्ला निर्वाचन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरबाट मतदाता नामावली संकलनमा जिल्लामा कुल ६ जार ६ सय ७० मतदाता थपिएका थिए । जसमा ३ हजार १ सय ४० महिला र ३ हजार ५सय ३० पुरुष छन् । निर्वाचन आयोगले अहिले थपिएका मतदानको लागि उमेर पुगेका मतदाताको समेत मतदाता नामावलीमा नाम समाबेश गरेको छ ।
मतदाताले निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा नाम भएकाले मात्र मतदाता परिचय पत्र वा नागरिकता देखाएर मात्र सम्बन्धित व्यक्तिले मत हाल्न पाउनेछन् ।