2

Logo २०८३ बैशाख १३ आइतबार
मतदाताको गुनासोः हरेक चुनाबमा आश्वासन पाइयो, विकास पाइएन

मतदाताको गुनासोः हरेक चुनाबमा आश्वासन पाइयो, विकास पाइएन


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक १५ २०७९
568

पाल्पा

निस्दी गाउँपालिका २  सहलकोट सुकेकोटका रनबहादुर राना ७२ वर्षका भए । जीवनकालका विभिन्न समयमा भएको निर्वाचनमा उनले मतदान गरे । मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै लगातार विभिन्न तहका निर्वाचनमा मत हाल्दै आउनुभएको छ । तर गाउँमा विकासको परिवर्तन नहुँदा रानामा निराशा छाएको छ ।

यसपटक आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेश तहको निर्वाचनमा मत माग्न उम्मेदवारहरू उहाँको घरदैलोमा पुगेका छन् । आफूले जानेदेखि नै सुनाएका, आश्वासन दिएका पुरानै योजना लिएर विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवार गाउँका नागरिक समक्ष योजना लिएर विश्वस्त पार्न आउने गरेको राना बताउँछन् ।

‘चुनावका बेला जहिल्यै उही पुराना योजना लिएर उम्मेदवार आउँछन्, निर्वाचन जितेर गएपछि काम केही गर्ने होइनन्, नेताको अनुहार देख्नै पाइँदैन’,उनले भने–‘सामान्य आधारभूत आवश्यकता पूरा नभएको ठाउँमा ठूला–ठूला विकासका योजना सुनाएर हामी गाउँका जनतालाई सधैँ भ्रममा पारिरहेका छन् ।’

गाउँमा दीर्घकालीन योजना बनाएर काम थालनी गर्ने हो भने धेरै कुराको विकास हुने ज्येष्ठ नागरिक रानाको भनाइ छ । यस गाउँमा ऐतिहासिक थुप्रै गुफाहरू छन् । यिनीहरुको संरक्षण नहँुदा यो ठाउँ सधैँ ओझेलमा परेको छ । गुफा संरक्षण गरेर राम्रोसँग सञ्चालन गर्न सके आम्दानीको दरिलो आयस्रोत बन्ने उनको भनाई छ ।

गाउँमा हिउँदयाममा सडक पुगेपनि वर्षायामका बेला सधैँ नागरिकले सास्ती भोग्नुपरेको छ । खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, बाटोजस्ता सामान्य आधारभूत कुरा अझै पनि परिपूर्ति हुन सकेको छैन । जसले गर्दा यहाँबाट स्थानीय अन्यत्र बसाइँसराइ गएका छन् । बोलेका कुरा पूरा गर्न नसक्ने तर चुनाव आउँदैपिच्छे गाउँमा केन्द्रित भई स्थानीयलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिँदा यसपटकको चुनावमा यहाँका मतदाता खासै उत्साहित देखिँदैनन् ।

अहिलेको समयमा पनि गाउँमा खानेपानी, बिजुली, सडक, शिक्षा, स्वाथ्यजस्ता समस्यासँग नागरिक जुधिरहेका छन् । आधारभूत आवश्यकता समेत गाउँमा नहुँदा हामी जनता सधैँ अन्धकारमा जीवन जिउनु परिरहेको छ स्थानीय बीना गाहाले भनिन् ।

‘पाँच वर्षअघिको संघ र प्रदेशको चुनावमा उम्मेदवारले खानेपानी धारा घर–घरमै पुर्‍याइदिन्छौं भनेका कुरा भाषणमा मात्रै सीमित बन्यो, अहिले पनि गाउँमा पर्याप्त खानेपानीको सुविधा छैन, एउटा धाराको पानी पाँच/सात घरपरिवारले प्रयोग गर्नुपर्छ, कहिलेकाहीँ त घरको धन्दाले पानी भर्न जादा पानी सुकिसकेको हुन्छ, कहिले पालो नआउदै पानी आउन छोड्छ । पानीको अभावले घरायसी धन्दामा समेत असर परेको गुनासो बिनाले पोखिन् ।

विद्युत् सेवा नहुँदा यहाँका जनताले सोलार बत्ती बालेका छन् । धेरै क्षमताको राख्न पहुँच छैन, धोरैको राख्दा एउटा बत्ती बाहेक बल्दैन, पर्याप्त सोलारको उज्यालो नि कहाँ पाउनु स्थानीय निमिसराले भनिन् । चुनावका बेला ल्याएका योजना कार्यान्वयन नहुँदा स्थानीयले उम्मेदवारलाई जनताको मन जितेर काम गर्न सुझाव दिएका छन् ।

चुनावका बेला गाउँ केन्द्रित हुने उम्मेदवार निर्वाचन जितेर सत्तामा पुगेपछि गाउँ नफर्कने, गाउँका समस्या सरकारसमक्ष नपु¥याउँदा विकासमा सधैं पछाडि परिरहेको अर्की महिला तिलिसरा राना बताउँछिन् । उनी भन्छिन्, ‘एकै ठाउँबाट लगातार निर्वाचन जित्ने तर विकास नगर्ने नेतृत्वले गर्दा गाउँमा विकासको लहर आएन, विगतका चुनावलाई हेर्दा हामी जनतालाई आशमात्रै दिलाउने काम भयो, जनतालाई विकासको अनुभूति नदिने नेतृत्व विकास निर्माणको बाधक हुन्, अब जसले जनमतको कदर गर्छ, उसलाई हाम्रो मत सहितको मत हुन्छ ।

गाउँमा राम्रो विद्यालय नहुँदा छोराछोरी शहरबजारमा भाडामा राखेर पढाउनुपर्ने बाध्यता स्थानीयवासीले भोग्नुपरेको तिलिसराले बताइन् । उचित शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडकको राम्रो प्रबन्ध भयो भने स्थानीयले गाउँ छाड्दैनथे । सामान्य आधारभूत समस्याका कारण गाउँका पछिल्ला पुस्ता उर्वरशील जमिन, थाकथलो नै छाड्न बाध्य छन् ।

सहलकोट क्षेत्रमा घरबास (होमस्टे) सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना छ । हरियाली डाँडाकाँडाले भरिएको, उत्तरतर्फ कालीगण्डकी नदी बहेको, हिमालको मनोरम दृश्यले सबैलाई लोभ्याउने प्राकृतिक सौन्दर्यता छ ।

अघिल्ला वर्षका निर्वाचनमा गाउँमा होमस्टे सञ्चालन गर्ने योजना ल्याउँदा ग्रामीण भेगका नागरिकमा ठूलो आशा र उत्साह थियो । सो आशाले स्थानीयले मतदान गरे तर अहिलेसम्म यहाँ घरबासको काम भने हुनसकेको छैन । होमस्टे, बिजुली, विकासको आश दिन्छन्, तर जितेर गएर विकास आउदैन न नेता आउछन्–रानाले भनिन् । अब पनि जनतालाई आफ्नो पक्षमा मतदान गर्न विभिन्न प्रलोभन देखाउँदै आश्वासन नदिन यहाँका स्थानीयको विभिन्न दलका नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवारसँग आग्रह गरेका छन् ।

गाउँमा शिक्षाको कमीका कारण बालविवाहमा कमी आउन सकेको छैन । चेतनाको स्तरवृद्धि गर्न विभिन्न शिक्षामूलक कार्यक्रम अतिआवश्यक छ । परिवारमा अशिक्षाको कमीले सानै उमेरम घरजम गर्ने क्रम गाउँमा विद्यमान नै छ । सो समस्याको समाधानतर्फ अबका नेतृत्वले प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ ।

संघ र प्रदेश तहको निर्वाचनका चुनाव प्रचारात्मक कार्यक्रम गाउँघर केन्द्रित बनेको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि विभिन्न दलका उम्मेदवार, स्वतन्त्र उम्मेदवार, नेता, कार्यकर्ता आफ्नो पक्षमा मतदान गर्न गाउँ–गाउँमा पुगेका छन् । मतदाताले अघिल्ला निर्वाचनका बेला गरेका बाचा, प्रतिबद्धताअनुसार गाउँमा काम नभएकोमा असन्तुष्टि पोखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com