पाल्पामा बौलाहा कुकुरको बिगबिगी
पाल्पा ।
जिल्लाको माथागढी गाउँपालिकाका विभिन्न स्थानमा बौलाहा कुकुरको बिगबिगी बढेको छ । यस क्षेत्रका चिदीपानी, रुप्से र कसेनी लगायतका स्थानमा बौलाहा कुकुरले मानिस र पशु चौपायलाई टोक्ने गरेको स्थानीयले बताएका छन् ।
माथागढी १ को चिदीपानी बाहाखोक, कुनाबारी, ढकालकुना, दोहोरा, सोले खहरे, सराइ आसपासमा बौलाहा कुकुरले टोकेर देढ दर्जन बढी घाइते भएको वडाअध्यक्ष राजकुमार पन्थीले जानकारी दिनुभयो ।
केही दिनदेखि बौलाहा कुकुरले घर गोठमा डुलेको र बाटोमा हिड्न नहुने भएको केही स्थानीयले बताउदै आएका थिए पन्थीले भन्नुभयो- अहिले बौलाहा कुकुरले हिड्नै नहुने अबस्था भयो ।
वडा अध्यक्ष पन्थी र कसेनिका वडा सदस्य मान बहादुर रानाले कुकुरको टोकाइबाट घाइतेलाई समन्वय गरेर जिल्ला अस्पताल, मिसन अस्पताल पठाउनुभएको छ । केही दिन सो क्षेत्रमा नागरिक तथा स्थानीय बासीलाई सचेत र सतर्क रहन अनुरोध पालिकाले गरेको छ ।
कुकुर आतंकको समयमा सजक रहन अनुरोध गर्दै वडाध्यक्ष पन्थीले बौलाहा कुकुरको बिगबिगी रोक्न आबश्यक पहलकदमी भइरहेको जानकारी दिनुभयो ।