निर्वाचनमा मर्यादित रिपोर्टिङ सम्बन्धि कार्यशाला सम्पन्न
पाल्पा ।
आगामी निर्वाचनलाई मध्यनजर गर्दै स्वतन्त्र,मर्यादित र निष्पक्ष रिपोटिङ सम्बन्धमा संचारकर्मीलाई जानकारीमुलक कार्यक्रम पाल्पामा भएको छ ।
पाल्पा विकास केन्द्र, विजय विकास स्रोत केन्द्र नवलपरासीको आयोजना र पत्रकार महासंघ पाल्पाको समन्वयमा भएको कार्यशालामा प्रशिक्षक गोपाल बस्यालले निर्वाचन आचार संहिता, आचारसंहिता पालनामा पत्रकार, संचारगृहले खेल्नुपर्ने भूमिका, निर्वाचन, ऐन, कानून, जरिवानाको विषयमा सहजीकरण गर्नुभएको थियो ।
पाल्पाका मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउन आचारसंहिताको पालना कडाई नै प्रमुख विषय भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले पत्रकारिता क्षेत्रको सहयोगमा निर्वाचन स्वच्छ र मर्यादित बनाउन सकिने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रेखिराम रानाले पत्रकारहरु निष्पक्ष हुनुपर्ने भन्दै सबैले निष्पक्ष भएर समाचार संकलन र प्रकाशन गर्नुपर्ने दायित्व भएको बताउनुभयो ।
विजय विकास स्रोत केन्द्र नवलपरासीका कार्यक्रम अधिकृत आर्दश रिग्देलले संस्थाले विगत ३० वर्षदेखि निर्वाचन संग सम्बन्धित र विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको बताउनुभयो । पाल्पा विकास केन्द्रका कार्यकारी निर्देशक किरण कौशलले पत्रकारिता पेशा नै निष्पक्ष हुनुपर्ने भएकाले समाचारको वास्तविकता र सत्यतामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले केन्द्रले यस क्षेत्रका पत्रकारको क्षमता अभिवृत्ति, लेखनसीप, लेखनवृत्ति लगायतको क्षेत्रमा काम गर्दै आइरहको बताउनुभयो ।
पत्रकार महासंघका सचिव यज्ञमूर्ति तिमिल्सेनाको संचालनमा भएको कार्यक्रम पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा भएको थियो ।