पाल्पा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन कार्यालय रामपुरमा उद्घाटन
पाल्पा ।
संयुक्त गठबन्धनले पाल्पा क्षेत्र नं १ को क्षेत्रिय सम्पर्क कार्यालय रामपुरमा स्थापना गरेको छ । आगामी मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै रामपुर नगरपालिका ५ बेझाँडको विपि स्मृति भवनमा निर्वाचन परिचालन तथा प्रचार-प्रसारका लागि कार्यालय स्थापना गरेको हो ।
गठबन्धन दलका पाल्पाका संयोजक एवं नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले गठबन्धन राजनैतिक स्वार्थ नभई मुलुकको आवश्यकता भएको बताउँदै गणतन्त्र संस्थागत गर्नका लागि जित्ने पर्ने बाध्यता रहेको बताउनुभयो । श्रेष्ठले गठबन्धनको पक्षमा लाग्न सबैमा आग्रह गर्दै गठबन्धन रहर नभई मुलुकको संविधान रक्षा र राजनैतिक स्थिरताका लागि भएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले ओलीको प्रतिगमनका विरुद्धको लडाई रहेकोले गठबन्धनले जित्नु आवश्यक रहेको बताउनुभयो । संविधान विरोधीहरू षडयन्त्र रचेर जनतामा भ्रम छर्ने हुँदा गठबन्धन बिचार र योजना सहित चुनावी मैदानमा जानुपर्ने बताउनुभयो । घिमिरेले गठबन्धन मंसिर ४ सम्मका लागि मात्र नभई आगामी ५ वर्ष सम्म निरन्तर रहिरहने बताउनुभयो ।

युवा संघ पाल्पाका जिल्ला संयोजक पदम गैरेले पाल्पा क्षेत्र नं. १ को परिवर्तन र राजनैतिक स्थायित्वका लागि गठबन्धन दलको तर्फका उम्मेद्वारहरुलाई विजयी बनाउनु आवश्यक रहेको बताउनुभयो ।
पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्धार ज्ञान बहादुर गाहाले वषौंसम्म नेतृत्व गरेका दलहरुले क्षेत्र नं. १ लाई अघि बढाउन नसकेको बताउँदै क्षेत्रको स्वरुप परिवर्तनका लागि उम्मेदवारी दिएको बताउनुभयो । उहाँले पाल्पाको पुर्वी भेगलाई जोड्ने आर्यभञ्ज्याङ-रामपुर सडक खण्डको स्तरउन्नति, निस्दी गाउँपालिका लगाएत दुर्गम क्षेत्रमा विद्युत विस्तार, खानेपानीको समस्या समाधान तथा युवाहरुलाई स्वरोजगार बनाउने आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुभयो । गाहाले लोकतन्त्र र विकास सँगसँगै लैजान गठबन्धन आवश्यक भएको बताउनुभयो ।
गठबन्धनको तर्फ बाट पाल्पा क्षेत्र नं. १ प्रदेश सभा क का उम्मेद्वार श्यामकान्त खनालले निर्वाचन जित्ने आधार तयार भैसकेको बताउँदै इमान्दारीताका साथ प्रचार-प्रसारमा लाग्न गठबन्धनका कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पाल्पा क्षेत्र नं. १ प्रदेश ख का समानुपातिक उम्मेद्वार नरमति सिंजालीले बिगतमा कुनै पनि एक दल मात्रले राम्रो संग सरकार संचालन गर्न नसकेकाले गठबन्धनका रुपमा चुनाबमा जानुपरेको बताउनुभयो । नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति झमन राज मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कपिल बहादुर खाँणले गर्नु भएको हो ।