बाग्मती प्रहरीको सफलता: हराएका २ सय ३३ फेला- प्रमुख डीआईजी बज्राचार्य
हेटौंडा ।
बागमती प्रदेश प्रहरी कार्यालयले हराएका २ सय ३३ जना फेला पारेको छ।
गत साउन २२ देखि असोज ६ गतेसम्मको अवधिमा हराएको तथ्यांकमा रहेका ३ सय २९ जना मानिसमध्ये २ सय ३३ जना फेला परेको बागमती प्रदेश प्रमुख डीआईजी किरण बज्राचार्यले जानकारी दिनुभयो ।
हराउनेमा ६५ पुरुष, १ सय ४१ महिला, ३० बालक, ८५ बालिका र ८ जना ज्येष्ठ नागरिक थिए भने तीमध्ये ४० पुरुष, ९७ महिला, २५ बालक, ६७ बालिका र ४ जना ज्येष्ठ नागरिक फेला परेकाे बागमती प्रदेश प्रमुख डीआईजी बज्राचार्यले बताउनुभयो ।
सो अवधिमा भएका कामको विवरण सार्वजनिक गर्दै प्रहरीले प्रदेशमा प्रहरीले यो समयमा उल्लेख्य काम गर्न सफल भएको जनाएको छ । प्रदेशका १० वटै जिल्लामा प्रहरीले शान्ति सुरक्षा अपनाउने देखि रचनात्मक र बिभिन्न अभियान गरेको जानकारी दिइएको थियो ।
यस्तै यस अवधिमा लागुऔषधका ९४ वटा मुद्दामा १ सय २९ जनालाई पक्राउ गरेको छ । २ हजार ३ सय २० केजी गाँजा, ९५ केजी चरेश, २ केजी अफिम, १ सय ९४ ग्राम खैरो हेरोइन, दुई थान नाइट्रोजन ट्याब्लेट, ८ सय ८६ थान डाइजोपाम, ५ सय ३४ थान फेनरागन, ६ सय ६७ थान नुर्फिन, १ सय ५१ थान बुर्फिननर्पिन र १ सय १० थान नाइट्रोजेपाम प्रहरीले बरामद गरेको छ।