पाल्पाको अन्धकारमुक्ति सहकारी प्रदेशमा नै उत्कृष्ट
पाल्पा ।
पाल्पा जिल्लाको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लुम्बिनी प्रदेशमै उत्कृष्ट सहकारी बन्न सफल भएको छ ।
नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) केन्द्रले आफ्नो ३५ औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशका बचत तथा ऋण सहकारीमध्ये अन्धकारमुक्तिलाई उत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।
नेफ्स्कुनले गत असार १५ देखि साउन १५ गतेसम्म पुरस्कारका लागि आवेदन आह्वान गरेको थियो । जसअनुसार लुम्बिनी प्रदेशबाट अन्धकारमुक्ति साकोस छनोट भएको छ । नेफ्स्कुनको आगामी साधारण सभामा पुरस्कार प्रदान गरिनेछ । अन्धकार मुक्ति बचत तथा ऋण सहकारी गत वर्ष पनि लघुवित्ततर्फ उत्कृष्ट भएर पुरस्कार प्राप्त गरेको थियो ।
विसं २०५५ सालमा समुहबाट बिकसित हुदै सहकारीमा विकास भएको हो । हाल यस सहकारीमा १० हजारभन्दा बढी शेयर सदस्य आवद्ध छन् । जिल्लाको पुर्वी भेगका ४ पालिकामा कार्य क्षेत्र रहेको यस सहकारीको कुल पूँजी १ अर्ब ३२ करोड रहेको छ ।
बचत तथा ऋणको कारोबार गर्दै आएको सहकारीले लघुवित्त सेवा प्रदान गर्दै आएको छ । रामपुर नगरपालिका–७ डुम्रीगाउँमा प्रधान कार्यालय रहेको यस सहकारीले केन्द्रिय कार्यालय संगै रामपुर ५ बेझाँड बजार, रामपुर ९ जब्गादी, रामपुर १० रामटार, निस्दी–५ ढुङ्गानाबेँसी र रम्भा गाउँपालिका–५ ताहुँ सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
सहकारीले सेवाग्राहीलाई दृष्टिगत गर्दै ३ सय ६५ दिन नै सेवा दिँदै आएको र लघुवित्तमार्फत धेरैले व्यापार, व्यवसाय गरेर राम्रो प्रगति गर्न सफल भएको संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो। थोरै सदस्य, थोरै जनशक्ति र सानो पुजीबाट शुरु भएको सहकारी जिल्लामा नै उत्कृष्ट भएकोमा अहिले प्रदेशमा नै उत्कृष्ट हुँदा सबैको हौसलाले संस्था सफल गतिमा लम्किएको सहकारीका व्यवस्थापक दीपेन्द्र पौडेलले बताउनुभयो ।