“यो हो निस्दी…” निस्दी गाउँपालिकाको चिनारी गीत सार्वजनिक
पाल्पा ।
निस्दी गाउँपालिका पाल्पाको चिनारी मुलक गीत “यो हो निस्दी” सार्वजनिक भएको छ । निस्दीको कला, संस्कृति, पर्यटन तथा प्रकृतिलाई प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले गीत ल्याइएको हो ।
सुनारी फिल्मस प्रालिको ब्यानरमा बनेको भिडियोमा कलाकारहरु धन माया दिसुवा, राज बयम्बु, खेम शाही, झलक सारु, ङन सिंजाली, दिपेश राई लगायतको अभिनय रहेको छ भने मुख्य अभिनय पुजा रास मगरको रहेको छ ।
निस्दी गाउँपालिकाको आर्थिक सहयोगमा बनेको यो गीतमा बुद्द्या सुनारी मगरको लेखन तथा निर्देशन छ । स्थानीय निस्दीबासी संग छायांकन गरिएको भिडियोमा स्वर तथा अभिनय निस्दी भित्रकै कलाकारको छ । भिडियोको छायांकन निस्दीको विभिन्न ठाउँमा गरेको निर्देशक सुनारीले बताउनुभयो ।
मगर समुदायको बाहुल्यता रहेको निस्दी मगर संस्कृति परम्पराले भरिपूर्ण छ भने पर्यटकीय क्षेत्रमा पनि अब्बल छ । निस्दी गाउँपालिकाको सातै वडालाई समेटेर तयार परिएको भिडियो डकुमेन्ट्री यो हो निस्दीमा स्थानीय पर्यटकीय क्षेत्र, परम्परागत जीवनशैली, संस्कृति तथा भेषभुषालाई समेटिएको छ । निस्दीका वडाहरु बाकामलाङ्ग, सहलकोट, झिरुबास, मित्याल, गल्धा, अर्चले र ज्यामिरेमा रहेका स्थानीय रहनसहन तथा संस्कृतिलाई भिडियोमा उतारिएको छ ।
भिडियोमा झिरुबासको काउले डाँडा, मित्यालको हावाबाट निकालेको बिजुली साथै ज्यामिरेको चुनढुंगाको खानी विषयलाई उठाएको छ । सहलकोटमा जुरे गुफा, सुकेकोट गुफा, अर्चलेको झरना र लेकडाँडालाई भिडियोमा उतारिएको छ । भिडियोमा बाकामलाङ्लाई ‘बाँङामलाङ्ग’ र ठूलो पिपल बोटलाई चिनाएको देखिन्छ । तेसो त गल्धा घाँटु नाचले प्रख्यात छ । यहाँ ठूलो नाच, झ्याउरे, ठाडो भाका तथा चुटका नचाउने गरिन्छ ।