पाल्पाका पालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा चल्दै
पाल्पा।
पाल्पा जिल्लाका विभिन्न पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा तिब्र पारिएको छ । राज्यले तोकेको उमेर समुहमा सबै बालबालिकाले समयमा नै खोप पाएकोले पालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको हो।

पालिकाले संकलन गरेको तथ्यांक अनुसार १६ देखि २३ महिना सम्मका बालबालिकाहरुले पूर्ण मात्रा खोप लगाए संगै स्वास्थ्य कार्यालय पाल्पाले शतप्रतिशत उपलब्धि लिन सकेकोमा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको हो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरीले रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापालाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र प्रदान गर्नु भएको छ । समन्वय समिति प्रमुख खनालले बाच्न पाउने अधिकार सुनिश्चित गराउने खोपको महत्त्व आफैमा अपार रहेको बताउनुभयो ।
रोग प्रतिरोधात्मक क्षमताको आधार खोप हो, संगै स्वास्थ्यका लागि आनीबानी र बिचारमा पनि यसले सकारात्मक परिवर्तन ल्याउनेछ, उहाँले भन्नुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले बाल मृत्युदर घट्दै शिशु र बच्चा बच्दै आएकोले कार्यक्रमको दिगोपनामा जोड दिनुपर्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खोप सुनिश्चितताले नगरमा निरन्तरता पाउने बताउनुभयो । स्वस्थ्य मस्तिष्क र मनस्थिति भयो भने सोचले फरक पार्ने हुँदा सदा सकारात्मक सोच लिनुपर्नेमा उहाँको जोड थियो । खोपलाई निरन्तरता दिन खटिने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई थापाले धन्यवाद व्यक्त गर्नुभयो । स्वास्थ्यमा नगरले राम्रो काम गरेको बताउदै थापाले स्थानीय सरकार भएपछि ६ बाट १६ वटा स्वास्थ्य संस्थाले नगरबाट सेवा दिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरीले स्वास्थ्यका कर्मचारीको नियमित निगरानी, समयमै खोप र डाटाले यो सम्भव भएको बताउनुभयो । सरकारले हाल १२ खोप दिदै आएकोमा आगामी बर्षबाट टाईफाईड विरुद्धको खोप पनि दिने उहाँले जानकारी दिनुभयो ।
रातदिन नभनेर हिडेर खोप, आमा-बच्चाको जिउ जोगाउन भुमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविकाको कदर गर्दै बिदाई हुनुभएका स्वयंसेविकालाई बधाई दिनुभएको छ ।
रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले सेवामा जोड दिन आग्रह गर्नुभयो । गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले १६ देखि २३ महिना सम्मका ५ सय १ जना बालबालिकाले पूर्ण मात्रा खोप लिएको र ४ जनाको छुटेकोमा उनीहरुलाई पूर्ण मात्राको खोप दिईसकेपछि बैशाख २३ देखि असार ८ सम्ममा वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताउनुभयो ।
सोही अवसरमा लामो समय देखि काम गर्दै आउनुभएका महिला स्वास्थ्य स्वयंसेविका निरमाया थापा र हरिमाया भट्टराईलाई स्वास्थ्य कार्यालय पाल्पा र रामपुर नगरपालिकाले नगद सहित प्रमाण पत्रका साथ सम्मान गरेको थियो । उमेर हदका कारण अबकाश पाउनुभएका उहाँलाई ससम्मान बिदाई गरिएको रामपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक गिरीराज घिमिरेले बताउनुभयो ।
