तिनाउको एघारौं गाउँसभा नीति, कार्यक्रम प्रस्तुति र प्रस्ताव पारित
एघारौं गाउँसभा समापनमा उत्कृष्ट कर्मचारी र खेलाडी सम्मान
पाल्पा ।
तिनाउ गाउँपालिकाको एघारौं गाउँसभामा आर्थिक बर्ष ०७९/८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिकरण सकिएको छ ।
गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले लोकप्रिय मात्र नभई दिगो विकासको योजना ल्याएको बताउनुभयो । आम पालिकाबासीलाई छुने गरि कार्यक्रम ल्याउन प्रयत्न गरिएको बताउदै पालिकाले शिक्षामा फड्को मार्ने उल्लेख गर्नुभयो । अध्यक्ष श्रेष्ठले शिक्षामा विद्यार्थीको दिवा खाजाका लागी थप गर्नुपर्ने र आगामी हिँउदे सभा मार्फत त्यसलाई सम्बोधन गर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाले बजेटमा सबैका सबै योजना समावेश गर्न नसकिएको बताउनुभयो । उपाध्यक्ष थापाले वडा मार्फत धेरैजसो योजना सञ्चालन भएको भन्दै योजना दिर्घकालिन रुपमा विकास हुने खालका छनौट गरिएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले असारको मुखमा योजनाको काम गर्दा दिगोपन नहुने भन्दै आगामी बर्ष योजना बनाएर समयमै काम सम्पन्न गर्ने र योजना फरफारक गर्ने रणनीति बनाउने बताउनुभयो ।
कार्यक्रममा सबै वडाका वडाध्यक्षहरुले बजेटको सहि सदुपयोग गर्ने र समयमै योजना सम्पन्न गर्न सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गाउँसभाले तिनाउ गाउँपालिकाको अर्थिक विधेयक २०७९ माथी छलफल गरि पारित गरेको छ ।
त्यस्तै सभाले न्यायिक समितिको बार्षिक प्रतिवेदन र महत्वपुर्ण नीतिगत प्रस्तावहरु पारित गरेको छ ।
गाउँसभा समापन हुँदै गर्दा गाउँपालिकाले ५ जना उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ । सेवा निबृत यम पुनलाई सम्मान सहित बिदाई समेत गरेको छ ।

यसैबीच, जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्वर्ण पदक बिजेता पालिकाका खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । उनीहरुलाई नगद ५/५ हजार र भलिवल खेलमा जिल्ला प्रथम भएकोमा एकमुष्ठ नगद २० हजार पुरस्कार प्रदान गर्दै खेल र खेलाडीको हौसला थपिएको गाउँपालिकाले जनाएको छ ।
