भारतद्दारा नेपाललाई ७५ एम्बुलेन्स र १७ स्कुल बस अनुदान सहयोग
काठमाण्डाै ।
भारतले नेपाललाई अनुदानमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस दिएको छ ।
भारतीय राजदूतावासले नेपालका बिभिन्न सङ्घ–संस्थालाई दिएको एम्बुलेन्स र स्कुल बस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा बितरण गरेको छ ।
नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ ।
भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा भारतको सहयोगलाई निरन्तरता दिएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताउनुभयो । श्रीवास्तवले बस र एम्बुलेन्स प्रदान गरिएका विभिन्न संस्थालाई चाबी प्रदान गर्नुभएकाे छ ।
कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गर्नुभएको थियो ।
भारतले सन् १९९४ यता नेपालका विभिन्न जिल्लामा रहेका संस्थाहरूलाई ९ सय ४० वटा एम्बुलेन्स र १ सय ८४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।