स्याङ्जामा बिपद् व्यबस्थापन समिति बैठक , तयारीमा रहन निर्देशन
स्याङ्जा ।
जिल्ला विपद् व्यवस्थापन समिति स्याङ्जाको बैठक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा मंगलबार बसेर विपद् व्यवस्थापनका सम्बन्धी महत्वपूर्ण निर्णयहरु गरेको छ ।
उक्त बैठकद्वारा बर्षातको सिजनसँगै मनसुन सुरु भइसकेको र जिल्लामा पनि विपदजन्य घटना हुन सक्ने अवस्थालाई मध्येनजर गर्दे स्याङ्जाका ११ वटै पालिका र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । जिल्लाका सबै पालिकाहरुले विपद्को स्थितिको आँकलन गरेर आआफ्नो विपद् कोषमा पर्याप्त रकम विनियोजन गर्न र आवश्यक सामग्री खरिद गरी मौज्जात राख्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो । बैठकद्वारा बर्षात्मा डोजर, जेसिभी, लगायतका सामाग्री र चालकहरुलाई समेत तयारी अवस्थामा राख्न सडक कार्यालय, स्थानीय पालिका र सुरक्षा निकायलाई अनुरोध गररेको छ।
बैठकले विपद् व्यवस्थापनका लागि आवश्यकता अनुसारका सामग्रीहरु खरीद गरि ३ वटै सुरक्षा निकायलाई उपलब्ध गराउन स्थानीय पालिकालाई अनुरोध गरेको छ । वर्षात्का सिजनमा मनसनुजन्य बाढी पहिरो तथा पानीजन्य हैजा, आउँ, टाइफाइड लगायतका सङ्क्रामक रोगजन्य विपद्हरु जुनसुकै बेला पनि आउन सक्ने भएको हुँदा त्यसको व्यवस्थापनका लागि अस्पताल, स्वास्थ्य कार्यालय, खानेपानी कार्यालय, रेडक्रस, उद्योगी ब्यावसायी, सुरक्षा निकायहरु, सडक तथा पूर्वाधारहरुसँग सम्बन्धित कार्यालयहरुलाई आ-आफना क्षेत्रबाट सहयोग गर्न र संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न अनुरोध गरिएको छ ।
बैठकले पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाको सिमानामा रहेका भालु पहाड, गल्याङ् नगरपालिका १ को राम्दी प्रहरी चेकपोष्ट माथिको पहिरो, गल्याङ् २ को मगर समाज भवन र सो वरपरका ४ घर लगायत आसपासका क्षेत्र, वडा नं. ३ लल्याङ् स्थित ८० घर परिवार उच्च जोखिममा रहेको औल्याएको छ ।
यसैगरी, गल्याङ् नगरपालिका ५ सेतीवेणी बजारमा सेतीखोला र कालीगण्डकी किनारमा रहेको सेतीवेणी बजार डुवानको जोखिमा रहेको, अर्जुनचौपारी २ जलजलेको पहिराले ४ घर र ५ वटा गोठ जोखिममा रहेका र कालीगण्डकी गाउँपालिकाको सिमाना रानीघाट— रुद्रवेणी पुल वरपरका क्षेत्रपनि उच्च जोखिममा रहेको हुँदा उल्लेखित स्थानहरुलाई विपद्को दृष्टिले निगरानीमा राखेर काम गर्न भनिएको छ ।
वर्षायाममा फैलिन सक्ने विभिन्न सन्क्रामक रोगर फैलिएर जुनसुकै बेला परिस्थिति असामान्य हुन सक्ने भन्दै त्यसका लागि जिल्ला स्थित सबै सुरक्षा निकायहरु, स्थानीय पालिकाहरु, अस्पताल, स्वास्थ्य कार्यालय, खानेपानी, रेडक्रस आदि सरोकारवालाहरुलाई समन्वयात्मक रुपमा परिचालित गर्ने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सरोकारवाला गरि करिब ७० जनाको सहभागिता थियो । नगर तथा गाउँपालिकाका प्रमुख तथा अध्यक्षको अध्यक्षतामा स्थानीय विपद् ब्यवस्थापन समिति पालिकामा गठन हुने कानुनी व्यवस्था रहेको छ ।