चापाकोटको भर अब ईश्वर र इशामा
स्याङ्जा ।
स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ। चापाकोट नगरपालिकाको नगर प्रमुखमा देव बहादुर खाँड (इश्वर) र उपप्रमुखमा इशा राना विजयी हुनुभएको हो ।
नगर प्रमुखमा उम्मेदवार देव बहादुर खाँड (इश्वर) ले ७ हजार ४ सय ९० मत र उपप्रमुखमा इशा रानाले ७ हजार ४ सय १३ मत प्राप्त गरि विजय हासिल गर्नुभएको हो । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राजु कोईरालालाई ९ सय ३५ मतान्तरले पराजित गर्नुभएको छ । नेकपा एमालेका प्रमुख पदका उम्मेदवार राजु कोइरालाले ६ हजार ५ सय ५५ मत ल्याउनुभयो । उपप्रमुखका उमेदवार सृष्टि मल्लले ६ हजार ३ सय ७६ मत ल्याउनुभयो । उप-प्रमुखमा निर्वाचित राना संग चापाकोट नगरपालिकाको कार्यपालिका सदस्यको अनुुुभव समेत छ ।
चापाकोट नगरपालिकामा २१ हजार ५ सय ४६ जना मतदाता रहेकोमा १४ हजार ५ सय ६ मत खसेको थियो । १० वडा रहेको चापाकोटमा नेपाली कांग्रेस र नेकपा एमाले समान ५/५ वडामा निर्वाचित भएको छ ।
वडा नं. १ मा एमालेका भुपराज वस्ती, वडा नं. २ मा एमालेका टिकाराम श्रेष्ठ, वडा नं. ३ मा कांग्रेसका जुट बहादुर राना, वडा नं. ४ मा कांग्रेसका अर्जुन बहादुर खाँण, वडा नं. ५ मा कांग्रेसका वल नारायण श्रेष्ठ, वडा नं. ६ मा कांग्रेसका तारा देवी पोखरेल, वडा नं. ७ मा एमालेका मोहन केसीको प्यानल विजयी भएको छ । वडा नं. ८ दामाचौरमा अध्यक्षमा कांग्रेसका टोपलाल न्यौपाने र सदस्य चार जना भने एमाले बाट निर्वाचित भएका छन् ।वडा नं. ९ मा नेकपा एमालेका कृष्ण सुवेदी र वडा नं. १० मा पनि एमालेका रामु कोईरालाको प्यानल विजयी भएको छ ।