पाल्पामा बैशाख ८ देखि नेवा: समाज रामपुरद्दारा बेल विवाह (ईहि यज्ञ) हुँदै
पाल्पा ।
नेवा: समाज रामपुरले पाल्पाको रामपुरमा बैशाख ८ गतेदेखि बेल विवाह (ईहि यज्ञ)को आयोजना गर्ने भएको छ । समाजले आज रामपुरमा पत्रकार सम्मेलनको आयोजना गरि लामो समयदेखि बिबिध कारण रोकिएको सामुहिक बेलविवाह आयोजना गर्ने जनाएको हो । नेवार समुदायले आफ्नो परम्परा, संस्कृति अनुसार कन्याको बेलविवाह र कुमार (बटुक) हरुको ब्रतबन्ध गर्ने प्रचलन छ ।
नेवाः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले बैषाख ८ देखि १० गतेसम्म रामपुर ५ रातो ढिक बगैचामा बेलविवाहको कर्म चल्ने बताउनुभयो । उहाँका अनुसार शुरुको दिन उद्घाटन कार्यक्रम सहित बेलविवाहको कर्म शुरु हुनेछ । भने बटुकहरुको ब्रतबन्ध पहिलो दिन नै सकिनेछ । दोस्रो र तेस्रो दिन बेलविवाहको कार्यक्रम अन्तर्गत कन्यालाई घरायशी कामदेखि सरसफाइका कुरा सिकाइन्छ र पुजाआजा सहित बेल संगको बिहे, कन्यादानको बिदाई र भित्र्याई र सिन्दुर हाल्ने कार्यक्रम अन्तिम दिन हुनेछ । काठमाडौं बाट आएका नेवार समुदायका मुल राजपुरोहित सहित २ महिला सहयोगीले पुजा गराउने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

नेवा समाजले सामुहिक बेलविवाह यस अघि पनि ३ पटक सम्पन्न गरिसकेको छ । पाल्पा सहित छिमेकी स्याङ्जा, तनहुँ, नवलपुर, कास्की, रुपन्देही सहित विभिन्न जिल्लाबाट आउने गरि सम्पर्क भएको उहाँले जानकारी दिनुभयो । शहरमा बसेका र भारतमा समेत रहेका रामपुर क्षेत्रका नागरिक समेत बेलविवाहलाई लक्ष्यित गरि आउनेछ्न् ।
सम्पर्क समन्वयको आधारमा १ सय ५० कन्याको बेलविवाह र २० बढी बटुकको ब्रतबन्ध हुने अनुमान गरिएको समाजले जनाएको छ । यस अघि पनि नेवा: समाज रामपुरले वि. स. २०६२, २०६७ र २०७२ सालमा समेत सामुहिक बेलविवाह र ब्रतबन्धको आयोजना गरेको थियो ।समाजले गत माघ २१ गते देखि २३ गते सम्म बेलविवाह कार्यक्रम गर्ने भनेकोमा कोभिडले रोकिएको थियो ।

नेवा: समाज रामपुरका मुख्य सल्लाहाकार राजु प्रसाद श्रेष्ठले नेवार समुदायको उद्गम स्थल काठमाडौं भक्तपुरमा मात्र यस्तो कार्य हुने गरेकोमा उपत्यका बाहिर पाल्पाको रामपुरमा झण्डै २ दशकदेखि पहल भएर कार्यक्रम हुनु नेवार समुदायको एक्यवद्धता भएको बताउनुभयो ।संस्कृतिको धनी नेवार समुदायको मौलिकता झल्कने संग्रहालय बनाउने गरि पहल अघि बढेको उहाले जानकारी दिनुभयो ।

रामपुरमा १ सय ३७ घर परिवार नेवा: समाजमा आवद्ध छन् । समाजमा रहेका हरेक परिवारको सहभागितामा यज्ञ गर्ने जनाएको छ । यज्ञको लागि कन्या, बटुक र अभिभावकबाट आएको दान व्यबस्थापन सहयोग र अन्य कोषबाट रहने जनाएको छ । जसको लागि १३ देखि १५ लाख खर्च लाग्ने अनुमान छ । नेवारी परम्परा अनुसार रजस्वला हुनु अघि कन्याहरुको बेल विवाह गरिन्छ । यी समुदायका युवतीले बेल संग विवाह पश्चात सिन्दुर लगाउन पाउने छन् भने श्रीमानको निधनपछि पनि सिन्दुर र रातो बस्त्र लगाउन पाउँनेछन् ।
यज्ञ सम्पन्न गर्न समाजले विभिन्न उपसमिति गठन गरि तयारी बढाएको छ । प्रेम प्रकाश श्रेष्ठको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति, श्यामकुमार श्रेष्ठको संयोजकत्वमा मन्च व्यबस्थापन उपसमिति, राज कुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, शुकमाया श्रेष्ठको संयोजकत्वमा पुजा व्यवस्थापन उपसमिति, बिनोद श्रेष्ठको संयोजकत्वमा भोज व्यबस्थापन उपसमिति, रुद्र नारायण श्रेष्ठको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, सुनिल श्रेष्ठको संयोजकत्वमा स्वयंसेवक, सुरक्षा उपसमिति, विशाल श्रेष्ठको संयोजकत्वमा विद्युत,पानी व्यबस्थापन उपसमिति गठन भएको छ । त्यस्तै रितुमान श्रेष्ठको संयोजकत्वमा कपडा व्यवस्थापन उपसमिति, पुननारायण श्रेष्ठको संयोजकत्वमा होटल व्यबस्थापन उपसमिति गठन भएर काम गरि बढेको छ ।
।
नेवा: समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष राजकुमार श्रेष्ठको स्वागतबाट शुरु भएको कार्यक्रम समाजका सचिव विमल श्रेष्ठको सञ्चालनमा भएको थियो ।