महिला वीच भलिवल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबलाई
पाल्पा । पाल्पाको रानीमहलमा भएको प्रथम सञ्जयस्मृति राष्ट्रिय महिला वीच भलिबलको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ। ऎतिहासिक रानीमहलको कालीनदी बगरमा फाइनलमा भिडेका लुम्बिनी प्रदेश र पुलिस क्लब बिचको खेलमा लुम्बिनीलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिसले उपाधि जितेको हो।
फाइनलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० सेटमा पराजित गर्यो। पहिलो सेट २१–८ र दोस्रो सेट २१–१७ ले पुलिसले उपाधि कब्जा गरेको हो। नेपाल पुलिसका कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेका थिए।
प्रतियोगितामा विजेता नेपाल पुलिसले १ लाख रुपैया, ट्रफी मेडल, पाल्पाली करुवा पुरस्कार पाएको छ। उपविजेता बनेको लुम्बिनी प्रदेशले नगद ५० हजार, ट्रफी मेडल र पाल्पाली करुवा प्राप्त गरेको छ ।
प्रतियोगितामा तेस्रो भएको सुदूरपश्चिम प्रदेशले नगद ३० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र पाल्पाली करुवा र चौथो भएको गण्डकी प्रदेशले नगद २० हजार र प्रमाणपत्र पुरस्कार हात पारेको छ। सञ्जय स्मृति प्रतिष्ठानले चैत २४ गतेदेखि आयोजना गरेको प्रतियोगितामा दुई विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) सहित ७ प्रदेशका टिम सहभागी थिए।