आयात-निर्यातलाई चोभार सुख्खा बन्दरगाहले थप सहज बनाउछ- प्रधानमन्त्री देउवा
काठमाडौं । चोभार सुख्खा बन्दरगाहले देशको आयात निर्यातलाई थप सहज बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ । मंगलबारदेखि संचालनमा आएको सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने बताउनुभयो ।

चोभार सुख्खा बन्दरगाहको विशेष महत्व छ देउवाले भन्नुभयो- बन्दरगाहले व्यापारलाई सहज मात्र होइन पारदर्शी बनाउन महत्वपूर्ण भुमिका खेल्छ । विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २ सय २० रोपनी क्षेत्रफलमा २०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य शुरु भएको हो।
विश्वबैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सहमति भएको थियो । सन् २०१९ मा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो ।