आईपीएलमा गुजरात टाइटन्सको दोस्रो जित
काठमाडौं ।
इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वान्टी- ट्वान्टी क्रिकेटमा गुजरात टाइटन्सले दोस्रो जित हात पारेको छ।
गएराति भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्समाथि १४ रनको जित निकालेको हो । १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५७ रनमा समेटियो ।
दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४३, ललित यादवले २५ तथा रोभम्यान पावेलले २० रन बनाए । गुजरातका लोकी फर्गुसनले ४ तथा मोहम्मद सामीले २ विकेट हात पारे ।
यसअघि पुनेमा टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १७१ रन बनाएको थियो । उसका लागि शुभमन गिलले ८४ रनको अर्धशतक ल्याए।
त्यस्तै कप्तान हार्दिक पाण्ड्या ३१ रनमा आउट हुँदा डेविड मिलर २० रन ल्याए । बलिङतर्फ दिल्लीका मुस्तफिजुर रहमानले ३ तथा खलिल यादवले दुई विकेट झारे ।
नवप्रवेशी टिम गुजरातले आफ्नो पहिलो खेलमा अर्को नवप्रवेशी लखनऊ सुपर जायन्टलाई हराएको थियो । आज साविक विजेता चेन्नई सुपर किंग्सले पञ्जाब किंग्सको सामना गर्दैछ ।