मध्यविन्दु नगरपालिका र भारतको आत्मीय विश्वविद्यालय बीच शैक्षिक सहकार्य गर्न पत्रमा हस्ताक्षर
नवलपुर ।
पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका र भारतको आत्मीय विश्वविद्यालय बीच शैक्षिक, अनुसन्धानात्मक कार्यमा सहकार्य गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
भारतको गुजरात राज्यको राजकोटमा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी र विश्वविद्यालयका अध्यक्ष साधु त्याग्वल्लभदासले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । आत्मीय विश्वविद्यालयले हामीलाई मानव मुल्य शिक्षा र समग्र शैक्षिक सुधारमा प्राविधिक सहयोग उपलब्ध गराउने नगरप्रमुख अधिकारीले भन्नुभयो ।
गुजरातको राजकोटमा जारी २६ औं वार्षिक जीवन विद्या राष्ट्रिय सम्मेलनमा नेपालबाट मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी नेतृत्वको टोलि सहभागी छ । सम्मेलनमा नगरपालिकाको तर्फबाट विद्यालय स्तरमा लागू भएको “हाम्रो खुसी” पाठ्यक्रमको प्रभाव र अपेक्षित प्रतिफलका बारेमा शनिवार नगर प्रमुखले प्रस्तुतिकरण गर्नुभएको थियो ।
सम्मेलनको अन्तिम दिन आइतवार हस्ताक्षर गरिएको समझदारी पत्रमा आत्मीय विश्वविद्यालयका रजिष्टार डा. दिव्यांग व्यास र नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद रेग्मी समेत सहभागी हुनुभएको छ । नेपालमा नै पहिलो पटक हाम्रो खुसी पाठ्यक्रम लागू गरेको हाम्रो मध्यविन्दु नगरपालिकालाई यस वर्ष जीवन विद्या राष्ट्रिय सम्मेलनमा सहभागी हुन आत्मीय विश्वविद्यालयले निमन्त्रणा गरेको थियो ।
नगरपालिकाबाट नगर प्रमुख अधिकारी, शिक्षा अधिकृत रेग्मी, हाम्र्रो खुसी कार्यक्रम संयोजक लक्ष्मी पाण्डे, पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरिप्रसाद देवकोटा र मध्यविन्दु हाम्रो खुसी श्रोत शिक्षक कृष्णचन्द्र गिरी सहभागी हुनुहुन्छ ।